शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ दिन बन्द हुन सक्ने

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०८०



  • काठमाडौँ/नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा विस्तारको कामलाई धमाधम अघि बढाएको छ । उक्त निर्माणका कारण आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने भन्दै केही दिन बन्द गरेर काम गर्नुपर्ने सम्भावना रहेको जनाइएको छ ।

    आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका ४० वटा वायुसेवाका प्रतिनिधिसँग आयोजनाले बुधबार गरेको छलफलमा निर्माणका क्रममा मुलुककै पहिलो अन्तर्राष्ट्रिय हवाई अड्डालाई ४–५ दिन पूर्ण रूपमा वा आंशिक रूपमा बन्द गर्नुपर्ने सम्भावना रहेकाले त्यसअनुसार आफ्ना उडानहरूलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।

    अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) को जारी प्रावधानअनुसार, काठमाडौं विमानस्थल सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा वायुसेवा कम्पनीहरूलाई हाल भइरहेको निर्माणबारे धावनमार्ग आसपासको ‘डिक्लेयर डिस्टेन्स’ बारे जानकारी गराउन छलफलमा बोलाई जानकार गराएको हो । यो अन्तर्राष्ट्रिय नियम हो । विमानस्थल सञ्चालन गर्ने निकायको जानकारीका आधारमा वायुसेवाहरूले भविष्यमा पूर्वाधार विस्तारका क्रममा हुन सक्ने उडान अवरोधलाई विश्लेषण गर्दै बिक्री भइसकेका टिकटका यात्रुहरूको उडान तालिका हेरफेर गर्नुपर्छ ।

    यसपछि काठमाडौं विमानस्थलको निर्माण क्षेत्रलाई समेटेर आइकाओले तोकेको मापदण्डअनुसार, संसारभरका उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी) मा नक्सा प्रकाशन गर्नुपर्छ । यसपछि उडान बन्द गर्नुअघि पाइलटहरूका लागि जारी गरिने सूचना नोटाम (नोटिस टु एयरमिन) निकाल्नुपर्छ ।

    ‘सन् २०१६ मा एसियाली विकास बैंकले तयार पारेको गुरुयोजनाअनुसार, विमानस्थलको उत्तर–पश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन, अहिलेको धावनमार्गको दुवै बिन्दु जोड्न समानान्तर ट्याक्सी–वे निर्माण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र विस्तार गर्दै दुई वटा एप्रोन गरी १५ अर्ब रुपैयाँ बराबरका तीन वटा ठेक्का सञ्चालन भइरहेका छन्,’ आयोजना निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले वायुसेवा प्रतिनिधिहरूसमक्ष भने, ‘यी पूर्वाधार विस्तारका लागि वर्षा लाग्नुअघि (अप्रिल १ देखि जुन ३० सम्म) चैत १९ देखि ०८१ असार १६ सम्म बेलुकी ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल नै बन्द गरेर काम सम्पन्न गर्नुपर्नेछ ।

    यसै सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति मात्रै होइन ४/५ दिन पूर्ण रूपमा वा आन्तरिक उडान मात्रै सञ्चालन गरेर बाँकी अन्तर्राष्ट्रिय उडानलाई भैरहवा वा पोखरामा डाइभर्ट गरेर काम गर्नुपर्ने बढी सम्भावना देखिएको छ ।’

    हवाई यात्रुहरूले एक वर्षअघिदेखि नै टिकट बुकिङ गरिसक्ने भएकाले आयोजनाले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूलाई अन्तिम समयमा दिइने जानकारीले व्यवस्थापकीय संकट आइपर्न सक्ने भएकाले पहिलो चरणको छलफल गरेर जानकारी दिएको हो । आयोजनाका अनुसार, वायुसेवा कम्पनीहरूले मनसुनका बेला ११ बजेदेखि ४ बजेसम्म हुने उडान निर्माण नसकिएसम्म कटौती गर्नुपर्ने वा बिहान सार्नुपर्ने हुन्छ ।

    प्राधिकरणले काठमाडौं विमानस्थलको वार्षिक कम्तीमा १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ यता गुरुयोजनाअनुसार, भौतिक पूर्वाधार निर्माण तथा विस्तारका काम गर्दै आइरहेको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा मात्रै अन्तर्राष्ट्रिय उडानतर्फका जेट विमान एप्रोनमा पार्किङ हुन्छ । गुरुयोजनाअनुसार, सबै काम सम्पन्न भए १६ वटा न्यारोबडी विमान एप्रोनमा यात्रुलाई सेवा दिन सक्ने क्षमताको हुनेछ ।अहिले ३ किलोमिटर धावनमार्गको दक्षिण र उत्तरमा रहेका दुवै बिन्दुलाई जोड्ने ट्याक्सी–वे छैन ।

    अबको डेढ वर्षभित्र भने यी दुवै बिन्दुसम्म ट्याक्सी–वे जोडिँदै छ । दुवै बिन्दुबाट जहाज पस्न र निस्किन ‘इन्ड–टु–इन्ड ट्याक्सी–वे’ निर्माण भएसँगै धावनमार्गको क्षमता थप वृद्धि हुनेछ । ‘गुरुयोजनाअनुसार निर्माण कार्य सकिएपछि अहिले जस्तो जहाज पार्किङ अभावले सिमरामाथिको आकाशमा जहाज होल्ड गराउनुपर्ने, साना जहाजलाई काठमाडौं बाहिरका विमानस्थलमै होल्ड गराउनुपर्ने समस्या निराकरण हुनेछ,’ आयोजना प्रमुख इन्जिनियर श्रेष्ठले भने ।

    नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल नभएकाले ५ वर्षअघि पनि चिनियाँ ठेकेदार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जीर्णोद्धार गर्दा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको थियो । यस पटक भने काठमाडौंमा उडान रोक्नुपर्ने अवस्था आइपरेमा भैरहवा र पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सकिने भएकाले निर्माणका क्रममा अन्तर्राष्ट्रिय मापदण्डअनुसार तीन मिटर गहिरो खाल्डो खनेर २०/२५ तहमा माटो पुर्ने काम गर्दा उडान सुरक्षाका कारण विमानस्थल नै बन्द गरेर काम गरिने इन्जिनियरहरूको भनाइ छ । ‘धावनमार्गको केन्द्रबाट ७५ मिटर दायाँबायाँ दूरीमा ३ मिटर गहिरो खाल्डो पुर्नु धेरै संवेदनशील काम हो ।

    स्थान अभावले निर्माण भइरहेको क्षेत्रमा धेरै यन्त्र/उपकरण प्रयोग गर्न नसकिने भएकाले विमानस्थल नै बन्द गर्नुपर्ने हुन्छ कि त साना जहाज मात्रै उडाएर ठूला जेट विमानका लागि विमानस्थल बन्द गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘यसबारे ठेकेदार कम्पनी, परामर्शदाता र प्राधिकरणका इन्जिनियरहरूले साथसाथै अध्ययन पनि गरिरहेका छन् ।

    काठमाडौं विमानस्थलको पूर्वाधारमा मात्रै केन्द्रित आयोजनाले यसअघि पूर्वी भागमा रहेको जहाज पार्किङ क्षेत्रबाट पुराना जहाजलाई अन्यत्र सारेको थियो । एप्रोन निर्माण क्षेत्रमा पर्ने यती र श्री एयरलाइन्सका दुइटा ह्यांगरलाई १५ दिनभित्र भत्काउन भनिसकिएको आयोजनाले जनाएको छ । बुधबारको छलफलमा विमानस्थलमा सञ्चालित तीन फरक आयोजनाका तर्फबाट परामर्शदाताका इन्जिनियरले धावनमार्गसँगै समानान्तर ट्याक्सी–वेको काम थाल्दा जहाजको उडानभार पनि घटाउन भनेका थिए । धावनमार्गको दूरीअनुसार वायुसेवाले यात्रु, कार्गो र तेलको तौल घटाउनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij