प्रकाशित मिति : बिहिबार, चैत्र २९, २०८०
बलिउड अभिनेता रणदीप हुड्डा हालै फिल्म ‘स्वातन्त्र्य वीर सावरकर’ मा देखिएका थिए।
फिल्म एक हप्तासम्म पनि हलमा टिक्न सकेन। तर फिल्ममा रणदीपले खुब तारिफ बटुले। उनले यस फिल्मको लागि निकै मेहनत गरेका थिए।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मका लागि रणदीपले ३२ केजी तौल घटाएका थिए। उनी फिल्म छायांकनको समयमा पानी र कफी मात्रै पिउँथे।
हालै रणदीपले तौल कम गर्न डाइट गर्दा आफ्नो ज्यान जान सक्ने महसुस भएको बताएका छन्। फिल्म निर्माणमा ढिलाइ भएपछि उनले डेढ वर्षको लागि तौल कम गरेका थिए।
‘म ९२ केजीको थिएँ। यस फिल्मको लागि ६० केजी तौल बनाउनु थियो। तौल घटाउँदा आफूलाई निकै कमजोर महसुस गर्थे। कतिपय अवस्थामा बेहोस हुन्छु कि जस्तो लाग्थ्यो। यो मेरो लागि निकै डरलाग्दो कुरा हो। म योजना बनाएर अगाडि बढेको थिएँ। तर तिनीहरूले काम गरेनन्। जसको कारण मैले दुःख भोग्नु पर्याे। यस समयमा मेरो ज्यान पनि जान सक्थ्यो,’ उनले भने।
उनले डाक्टर अन्जली हुड्डाको रेखदेखमा तौल घटाएका थिए। अन्जली रणदीपकी बहिनी हुन्। अन्जलीका अनुसार रणदीपले ट्रान्सफर्मेसन देखेर उनकी आमा रोएकी थिइन् भने उनका बुवाले रिसाएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij