प्रकाशित मिति : मङ्लबार, जेष्ठ २२, २०८१
दाङ/ तुलसीपुर–१३ गिदनियाँकी ३० वर्षीया सम्पती चौधरीको छोरा छ वर्षका भए । ती छोरा जन्मदाको सुत्केरी ब्यथाको बेला उहाँले आफू तुलसीपुर उपमहानगरपालिकाभित्रको विकट बस्तीमा बसेको अनुभूति गर्नुभयो । साउनको महिना रातको समय सम्पतीलाई सुत्केरी ब्यथाले च्याप्यो । छरछिमेकी र आफन्त जम्मा भए, एम्बुलेन्स बोलाए । निरन्तर भइरहेको वर्षाका कारण गिदनिया गाउँ पुग्नुअघि छिचोल्नुपर्ने तुईसोतो उर्लिएको थियो । अन्ततः सोतो तर्न नसकेपछि एम्बुलेन्स बिरामी नलिएरै फर्कियो ।
ब्यथाले च्यापेकी सम्पतीलाई झन् गाह्रो भइरहेको थियो । नजिकको स्वास्थ्य चौकी मजघटुवामा छ, त्यहाँ पु¥याउन पनि यही सोतो तर्नुपर्छ । मान्छेले बोकेर सोतो तर्ने अवस्था पनि थिएन । विकल्पको बाटो भनेको दमारगाउँ हुँदै सडकसम्म पु¥याउने थियो तर उक्त बाटोमा पनि वर्षाका कारण ठाउँ–ठाउँमा चिरा परेकोले त्यो पनि सम्भव भएन । त्यसपछि गाउँलेहरुले स्टेचरमा जंगलको बाटो भञ्ज्याङको डाँडोसम्म बोकेर लैजाने र एम्बुलेन्स बोलाउने निर्णय गरे । यी सबै चाँजोपाँजो मिलाउँदा लामो समय लाग्यो । ब्यथाले बाध्यता बुझ्ने कुरा भएन । घण्टौं सुत्केरी ब्यथाले थलिएकी सम्पतीले घरमै बच्चा जन्माउनुभयो । उपमहानगरपालिकाभित्रकै यो घटनाले सरकारको कुनै पनि गर्भवती महिलाले घरमा बच्चा जन्माउनुपर्र्दैन भन्ने नीतिलाई गिज्यायो ।
पाँच वर्षअघि गिदनियाकै ३२ वर्षीय रामप्रसाद चौधरीलाई दुईसोतोले बगायो । तत्कालीन समयमा अमिलियास्थित एक होटलमा काम गर्दै आएका चौधरी खेतीपाती गर्न केही दिनका लागि गाउँ आउनुभएको थियो । फर्कनेक्रममा दिउँसो करिब ३ बजेतिर तुईसोतामा एक्कासी आएको बाढीले उहाँलाई बगायो । गाउँलेहरुले खोज्दै जाँदा दंगीशरण–२ को कौवाघारीमा उहाँको शव भेटाए । दुई वर्षअघि यात्रु लिएर जाँदै गरेको बस पनि तुईसोताले बगायो । भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । तुलसीपुर–१३ का गिदनिया, रनियापुर, आमखोलीलगायतका दर्जनबढी गाउँका नागरिकहरु यी विविध घटनाबाट पीडित छन् । अझै यस्ता घटना भोग्नुपर्ने हो कि भन्ने त्रास पनि छ, उनीहरुमा । उसो त यी गाउँहरु विकट क्षेत्र होइनन्, राप्ती राजमार्गबाट नजिकै पर्ने यी गाउँलाई दुईसोताले वर्षाको समयमा विकट बनाइदिन्छ ।
२०७४ सालमा संघीय सरकारले तुईसोतामा पुल निर्माण गर्न बजेट विनियोजन गरिदियो । २०७६ साल असोजमा पुल निर्माणको काम सम्पन्न हुने गरी ठेक्का सम्झौता भयो । पुल निर्माणको ठेक्का पाएको नेपालगञ्ज बाँकेको एड्भेञ्चर जेवी जेभी ठेकेदार कम्पनीले चारपटक म्याद थपको सुविधा पाउँदा पनि हालसम्म पुल निर्माणको काम अलपत्र पारेको स्थानीय टंक बस्नेतले बताउनुभयो । ‘पुल बन्ने काम अगाडि बढ्यो । त्यसपछि यहाँका नागरिकमा सहजताको आशा पलाएको थियो तर त्यो आशा अहिले पनि आशामै सीमित भएको छ । हामीले पटक–पटक सडक डिभिजन दाङमा पुगेर ध्यानाकर्षण पनि गराएका छौं तर काम हुँदैन’– उहाँले भन्नुभयो– ‘खोलाको वल्लोपल्लो ढिकमा मिलर ठड्याएको वर्षौं भइसक्यो तर अरु काम अगाडि बढेको छैन । यो ठेकेदारले काम गर्न नसक्ने भए, ठेक्का रद्द गरेर अर्कोलाई दिए हुन्छ नि । चार पटक त म्याद थप भइसक्यो । सात वर्ष भइसक्यो, ७१ मिटरको पुल बन्न यति धेरै समय लाग्छ र ?’
यो समस्या लिएर सडक डिभिजन कार्यालय, सम्बन्धित ठेकेदार र विभिन्न तहका नेतृत्वकर्ताहरुसँग भेटेर पहल थालिदिन आग्रह गर्दा पनि काम अघि नबढेको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । ‘संघीय बजेट भएका कारण स्थानीय सरकारले कारवाही प्रक्रिया अगाडि बढाउन मिलेन । यो सोताका कारण यहाँका नागरिकहरुलाई समस्या छ । हामी कसरी हुन्छ, पुल निर्माण गर्नेतर्फ सहजीकरणका गर्न लागिप¥यौं तर पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले सुनेन’– उहाँले भन्नुभयो– ‘अहिले ठेक्का रद्द भएको छ । त्यसपछि बल्ल ठेकेदार कम्पनी जुर्मुराएको छ । अहिले काम आफूले नै गर्न पाउने भन्दै ठेकेदारले अदालतमा मुद्दा दिएको रहेछ । त्यसकारण नयाँ ठेक्काको काम रोकिएको छ । काम नगर्ने अनि ठेक्का रद्द हुँदा मुद्दा दिने यस्तो पनि हुन्छ ? यो त सरासर ठेकेदार कम्पनीको दादागिरी भयो । सम्बन्धित निकायहरुको यसतर्फ ध्यान पुगोस् ।’
दुई वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म पनि बनेन । यद्यपि राज्यको नीतिका कारण म्याद थप गर्नुपरेको सडक डिभिजन दाङका इञ्जिनियर महेश बिकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘त्यो ठेकेदारबाट काम नहुने देखेपछि ठेक्का रद्द भइसकेको छ । अब नयाँ ठेक्का टेण्डरको काम अगाडि बढाउनुपर्ने हो तर ठेकेदार कम्पनीले त्यो काम आफैले गर्न पाउनुपर्ने भन्दै मुद्दा दर्ता गरेपछि प्रक्रिया अगाडि बढेको छैन । उसैले काम गर्न पाउने वा नयाँ ठेक्का टेण्डर गर्ने भन्ने विषयमा अदालतको आदेशअनुसार निर्णय हुन्छ ।’ यो पुल निर्माणका लागि छ करोड ८२ लाख ३७ हजार नौ सय ६३ रुपैयाँ ६८ पैसामा ठेक्का स्वीकृत भएको हो । चौथो पटक थप भएको म्यादअनुसार पुल २०८० असार १४ गते निर्माण गर्ने सम्झौता भएको सडक डिभिजन दाङको तथ्यांकमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij