प्रकाशित मिति : आइतवार, असार १६, २०८१
ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ।
विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको ३९० मिटर सडक ढलान गर्न थालिएको हो।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ।
जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्म दुई किलोमिटर कालोपत्र भइसकेको छ।
‘आगामी १८ महिनामा बगरफाँटबाट दुधेखोलासम्मको तीन किमी सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको ३९० मिटर सडक ढलान गर्ने लक्ष्य छ,’ उनले भने।
गण्डकी प्रदेश सरकारले चालु आवमा २ करोड बजेट यस सडकलाई विनियोजन गरेको र बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।
यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij