प्रकाशित मिति : बुधबार, साउन २, २०८१
दाङ / घोराही उपमहानगरपालिका–१३ स्थित (नयाँ वसपार्क नजिक) राधाकृष्ण मन्दिरमा साउन १ गतेदेखि ३२ गतेसम्म महाआरती तथा शिव महापुराण सञ्चालन हुँदैछ । मंगलबँर पहिलो दिन शोभायात्रापछि विधिवत उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले खोलाको बगरलाई अकल्पनीयरुपमा विकास गरी मठमन्दिरहरु र हरित् पार्क निर्माण भएको देख्दा गरे के हुँदैन भन्ने भावना जागेको बताउनुभयो । उहाँले पवित्र भूमिलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष पूर्णबहादु्र थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका पूर्वसासंद अमरबहादुर डाँगी, वडा नं. १३ का अध्यक्ष डुल्लुराम पोख्रेल, ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष जयानन्द शर्मा, दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु नारायण भुसाल र रामदयाल गुप्ता, दधिराम भण्डारीले बोल्नुभएको थियो ।
गोविन्दप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोपाल भुसालले गर्नुभएको थियो ।
हरेक दिन शिव पुराण, श्रृंगारिक महाआरती तथा भजन कीर्तन र दैवी लीलायुक्त नृत्य प्रस्तुत हुनेछ । कथा वाचकमा पण्डित श्री आचार्य सन्तोष श्यामशरण रहनुभएको छ । यो धार्मिक समारोहअन्तर्गत हरेक दिन कथा वाचन, अपरान्ह र रात्रिकालीन हुनेछ भने श्रृंगारिक आरती सन्ध्याकालीन हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij