प्रकाशित मिति : बिहिबार, साउन ३, २०८१
काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मंगलबारबाट सुरू भएको बृहत् कोटीहोम महायज्ञमा भक्तजनको ओइरो लागेको छ।
मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन भइरहेको छ।
महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गरिरहेका छन्।
विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भइरहेको छ।
ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ। महायज्ञमा दैनिक हजारौंको संख्यामा भक्तजन आइरहेको फाउण्डेशनले जनाएको छ। चुस्त व्यवस्थापनका कारण हजारौंको संख्यामा आउने भक्तजनले सजिलोसँग कथा श्रवण गर्न पाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij