प्रकाशित मिति : सोमवार, भदौ ३, २०८१
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको क्षेत्रमा अति दुर्लभ खरमजुरको संरक्षण गर्ने उद्देश्यले घाँसे मैदान व्यवस्थापनको काम अगाडी बढाइएको छ ।
नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) ले अमेरिकी सहयोग नियोग (युएसआइडी) को जलजङ्गल परियोजनाअन्तर्गत बेलौरी, पुर्नवास नगरपालिका,बेलडाँडी र लालझाडी गाउँपालिकामा रहेका प्राकृतिक घाँसे मैदानको व्यवस्थापन गर्न थालेको हो ।
उल्टनपुर, नन्दगाउँ, किसान मध्यवर्ती क्षेत्रमा घाँसे मैदानको व्यवस्थापन थालिएको सङ्घका चरा संरक्षणकर्मी हिरुलाल डगौराले बताए । घाँसे मैदानमा रहेका अनवाश्यक घाँस, झाडी हटाउने भइसकेको उनले बताए । प्रजननको समयमा खरमजुर निकुञ्जको भित्री भागमा रहेको घाँसे मैदानमा आउने भए पनि त्यसपछिको समय निकुञ्ज बाहिर जाने गर्दछ ।
सोही कारणले बासस्थान पुनःस्थापना र सुधार गर्न बाह्य क्षेत्रको घाँसे मैदान व्यवस्थापनको काम गरिएको डगौराले बताए । बासस्थान मासिँदै जाँदा प्रत्येक वर्ष खरमजुरको सङ्ख्यामा कमी आउन थालेको बताउँदै उनले भने,‘बासस्थान सुरक्षाका लागि घाँसे मैदान व्यवस्थापनको कार्यसँगै स्थानीय बासिन्दा, युवा सञ्जाल, सामुदायिक वनका पदाधिकारी, महिला समूह, जनप्रतिनिधिसँग छलफल, तालिमलगायत कार्य गरेका छौँ ।’
खरमजुर संरक्षणका लागि १२ समुदायका पाँच सय ७७ र चार पालिकाका युवा सञ्जालमा आबद्ध एक सय ४० जना युवालाई तालिम दिइएको डगौराले बताए । त्यस्तै चार वटा प्रकृति तथा चरा पर्यटनसम्बन्धी तालिम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ३७ जना कर्मचारीलाई खरमजुर संरक्षणसम्बन्धी तालिम दिइएको उनले बताए ।
खरमजुर गणना तथा सर्भेक्षणको कार्यका लागि सर्भेक्षण प्रोटोकल बनाइएको चरा संरक्षणकर्मी डगौराको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् १९८२ मा पहिलो पटक गरिएको सर्भेक्षणमा खरमजुर १४ देखि १५ को सङख्यामा पाइएको थियो ।
सन् २००० मा १२, सन् २०१४ मा ८, सन् २०२१ मा सात र सन् २०२३ मा पाँच वटा रहेका चरा संरक्षणकर्मी डगौराले जानकारी दिए । सो गणनाको तथ्याङ्कअनुसार प्रत्येक वर्ष खरमजुरको सङ्ख्या घट्दै गएको छ ।
खरमजुरले सिरु, काँस र खडाइका घाँसे मैदानमा बस्न मन पराउँछ । चर्नका लागि छोटो घाँस भएका मैदानलाई रोज्ने गर्दछ । प्रजननका बेला अग्ला घाँस भएका मैदानमा भेटिने गरेकाले घाँसे मैदान व्यवस्थापनको कार्य गरिएको उनले बताए । खरमजुर सुक्खा घाँसे मैदान र खेतबारीमा भेटिए पनि यसको प्रजननपछिको बासस्थानको बारेमा कम अध्ययन भएको उनले बताए ।
‘खरमजुर प्रायःजसो आहारा खोज्न बिहान र बेलुका मात्रै सक्रिय हुने गर्छ । यो सर्वहारी पक्षी भएकाले ससाना कीरा, फट्याङ्ग्रा, छेपारोदेखि घाँस, दाना फलफूल खान्छ,डगौराले भने,’ ‘एक्लै बस्न रुचाउने भएपनि प्रजननको समयमा भाले र पोथी दुवै जोडीका रुपमा भेटिने गर्दछन् ।’
खरमजुरको प्रजनन चैतदेखि जेठसम्म हुने उनले बताए । पोथीलाई आकर्षित गर्नका लागि भालेले जमिनमाथि निरन्तर उफ्रिदै मनमोहक नाच देखाउँछ । पोथीले अग्लो घाँसे मैदानमा १/२ वटा अण्डा पारेपछि करिब चार हप्तासम्म ओथारो बसी बच्चा कोरल्ने डगौराले बताए ।
खरमजुर तराईमा पाइने घाँसे मैदानको आवासीय पक्षी भएको चर्चा गर्दै यसको भालेभन्दा पोथी केही ठूलो हुने चराविद् समेत रहेका डगौराले बताए । पोथीको शरीरको लम्बाइ ६६ देखि ६८ सेन्टिमिटर र तौल एक दशमलव सात देखि एक दशमवलव नौ किलो हुने तथा भालेको शरीरको लम्बाइ ६२ देखि ६४ सेन्टिमिटर र तौल एक दशमलव दुई देखि एक दशमवलव पाँच किलो हुने उनले बताए ।
उनका अनुसार भालेको टाउको, घाँटी र माथिल्लो भाग कालो र पखेटाको रङ सेतो हुन्छ । यो उड्दा प्रष्ट देखिन्छ । पोथी र बच्चाको रङ भने मैलो खैरोदेखि बलौटे कैलोसम्म हुने गरेको छ ।
नेपालको संरक्षित क्षेत्रहरू कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु निकुञ्जमा पाइने खरमजुर नेपालमा बाहेक भारत र कयाम्बोडियामा मात्रै पाइन्छ ।
विभिन्न अध्ययनका क्रममा भियतनाम र बङ्गलादेशबाट यो पक्षी लोप भइसकेको चराविद् डगौराले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सूचीमा खरमजुरलाई नेपाल र विश्वमा अति सङ्कटापन्न अवस्थामा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij