शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आफ्नै घरमा डोजर चलाएर सडक खाली गराउन शुरु

  • प्रकाशित मिति : बिहिबार, भदौ ६, २०८१



  • देउखुरी । माटो र इँटाको गाह्रो अनि काठका झ्याल ढोकाबाट बनेको एउटा पुरानो घर । जसले धेरैलाई छहारी दियो । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले धेरै वर्ष पहिले निर्माण गरेको त्यही आफ्नै घरमा डोजर चलाउनुभयो । लमही–कोइलावास सडक विस्तार हुँदा १५ मिटर दायाँ र १५ मिटर बायाँ गरी ३० मिटरको क्षेत्र कायम गरियो । त्यसपछि उहाँको घर पनि बाटो क्षेत्रमा पर्ने भयो । नगर प्रमुखको जिम्मेवारी नहुँदा बाटोमा पर्ने जग्गाको मुआब्जा बुझ्नु भएका जोगराज चौधरी अहिले जिम्मेवारीमा हुनुहुन्छ । बाटो खाली गराउने र सुन्दर शहर बसाउने योजनासहित बाटो खाली गराउने अभियान आफैबाट शुरु गरेको उहाँको भनाइ छ ।

    बुधबार नगर प्रमुख जोगराज चौधरीले लमही–कोइलावास सडक क्षेत्रमा पर्ने आफ्नो घरमा डोजर लगाएर अभियान शुरु भएको संकेत दिनुभएको छ । ‘यो पुरानो घर हो । धेरै कार्यालय बसे । मान्छेहरुको बस्ने ठाउँ भयो । अहिले सडक क्षेत्र फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा पर्न गयो’– उहाँले भन्नुभयो– ‘सडक चौडा बनाउने, बजार राम्रो बनाउने अभियानको लागि मैले पहिलो डोजर आफ्नै घरमा लगाएँ ।’ डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख जोगराज चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरु पुगेका थिए ।

    सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५÷१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो । हुलाकी सडक आयोजना शुरु हुने क्रममा जग्गाको मुआब्जा बुझिसकेकाहरुले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान शुरु भएको हो । लमही बजार क्षेत्रमा सडक क्षेत्र साँघुरो छ । जसले गर्दा बजार राम्रोसँग विस्तार हुन सकेको थिएन । अब बजारको सुन्दरता र यहाँको विकासको लागि काम गरिने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताउनुभयो । ‘घर भत्किएपछि धुलो उड्ने, हिलो हुने जस्ता समस्या हुन्छन् कि भन्ने चिन्ता छ । हामी त्यस्तो हुन दिदैनौं । सडक खाली हुँदैजान्छ नाला बनाउने, सडक कालोपत्रे गर्ने काम पनि सँगसँगै हुन्छ’– उहाँले भन्नुभयो– ‘यो सडक खाली गराउने अभियानमा सहयोग गर्न सबै नगरवासीसँग अपिल गर्दछु ।’

    सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले राष्ट्रिय राजमार्गको रुपमा लमही–कोइलावास सडकको नामाकरण सहिद मार्गको रुपमा भएको भन्दै यसको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्ने काम सडक डिभिजन कार्यालयको भएको बताउनुभयो । ‘सडक क्षेत्र खाली गराउने अभियान चल्यो’– उहाँले भन्नुभयो– ‘नगरवासी सबैको साथ सहयोगको खाँचो छ ।’ सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणको लागि काम गर्ने जनाएको छ । लमही–कोइलावास हुलाकी सडक औपचारिकरुपमा नेपाल सरकारलाई वि.सं. २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो । ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको हो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ करोड बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरुले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij