शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कसैमाथि राजनीतिक पूर्वाग्रह साँध्न संवैधानिक व्यवस्थाको दुरुपयोग गरियो’ संविधानविद् भीमार्जुन आचार्य

  • प्रकाशित मिति : बुधबार, अशोज २, २०८१



  • काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले सहकारी ठगीका विषयमा छानबिन गर्न बनेको संसदीय समितिलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् । समितिको गठन नै संवैधानिक मर्मविपरीत भएको तथा प्रतिवेदन लेखन राजनीतिक पूर्वाग्रहप्रेरित रहेको उनले टिप्पणी गरे ।
    एमाले सांसद सूर्य थापा संयोजक रहेको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानेले गोर्खा मिडियाको खातामा रहेको रकम खर्च गरेकोमा दोष औंल्याउँदै कारबाही सिफारिस गरेको थियो । समितिको निष्कर्ष र सुझावलाई आआफ्नै ढंगले व्याख्या विश्लेषण भइरहेका छन्, तर संविधानविद् आचार्य भने संसदीय समितिले कसैलाई पनि दोषी र निर्दोषिताको प्रमाणपत्र दिन नमिल्ने बताउँछन् ।
    संक्षिप्त कुरा गर्दै आचार्यले भने, ‘यो संसदीय समितिको गठन नै अनुचित र अनावश्यक थियो । प्रहरीले अनुसन्धान गरिरहेको केसमा संसदीय समिति बनाएर दोषी र निर्दोष छुट्याउन मिल्छ ? कसैमाथि पूर्वाग्रह साँध्न संवैधानिक व्यवस्थाको दुरुपयोग गरियो ।’
    समितिले दिएको प्रतिवेदनले कुनै अर्थ नराख्ने र कार्यान्वयन पनि हुन नसक्ने आचार्यले ठोकुवा गरे । उनको भनाइमा यो प्रतिवेदन बढीमा एउटा ‘अध्ययन सामग्री’ हुनसक्छ ।
    आचार्यसँग गरिएको थप कुराकानीः
    – सहकारी ठगीसम्बन्धी संसदीय समितिले दिएको प्रतिवेदनलाई तपाईंले कसरी हेर्नुभएको छ ?
    मैले त यो संसदीय समिति गठनमै सुरुदेखि आपत्ति जनाएको हुँ । यो समितिको कुनै औचित्य थिएन र छैन । यसले दिने रिपोर्टको पनि कुनै अर्थ हुँदैन । यो कार्यान्वयन गर्न बाध्यकारी पनि होइन ।
    – संविधानमै टेकेर संसदीय समिति बनेको हो, तपाईं कसरी यसलाई औचित्यहीन भन्दै हुनुहुन्छ ?
    प्रहरीले अनुसन्धान गर्नुपर्ने, अदालतले निर्क्योल गर्नुपर्ने अपराधजन्य विषयवस्तुमा संसदीय समिति गठन हुनै सक्दैन । यो एउटा राजनीतिक स्टन्टबाजीमात्र हो । यसले दिएको प्रतिवेदनको कुनै पनि उपयोगिता छैन । बढीमा एउटा सन्दर्भ सामग्रीका रुपमा रहनसक्छ ।
    – संसदले नै अपनत्व लिइसकेको यो प्रतिवेदन कार्यान्वयन हुँदैन र ?
    बिल्कुल हुँदैन । मैले भनें त, यो अर्थ न बर्थको काम हो । संसदले अपनत्व लिए पनि संसदले अनुसन्धान गर्न पाउने होइन, मुद्दा हाल्न पाउने होइन । सहकारी ठगीको विषय छ भने पहिले प्रहरीमा जाहेरी आउँछ । प्रहरीले अनुसन्धान गर्छ, सरकारी वकिलले अभियोजन गर्छ, मुद्दा दर्ता गर्छ । अदालतले फैसला गर्छ । दोषी ठहर गर्ने पनि अदालत हो, सफाइ दिने पनि अदालत हो । अदालतको काम संसदीय समितिले गर्नै सक्दैन ।
    – संसदीय समितिको प्रतिवेदनका आधारमा फेरि नयाँ शिराबाट अनुसन्धान सुरु गर्न सकिएला नि त ?
    त्यसको के औचित्य ? अनुसन्धान भइरहेको विषयमा संसदले फेरि सुरुबाट अनुसन्धान गर भन्न पनि मिल्दैन । भन्यो भने पनि त्यो बाध्यकारी होइन ।
    – यदि केही पनि गर्न नसक्ने भए संसदीय समिति गठनको व्यवस्था संविधानमा किन राखियो ?
    अपराध अनुसन्धान गर्न संसदीय समिति गठन हुने होइन नि त ! यो एकदमै गलत अभ्यास भइराखेको छ । संसदीय समिति भनेको सरकारको काम-कारबाहीको निगरानी गर्न आवश्यक पर्दा गठन हुने हो ।
    नेपालका सांसद र नेताहरुले के बुझेनन् भने संसदीय व्यवस्थामा संसदीय समितिको काम भनेको ओभरसाइट काम हुन्छ । त्यो ओभरसाइट भनेको सरकार र संवैधानिक निकायहरुको कामको उसले अनुगमन गर्ने हो । कुनै पनि अपराधको विषयवस्तुमा संसदीय समितिले हातै हाल्न पाउँदैन । यो उसको क्षेत्राधिकारभित्रै पर्दैन ।
    – भनेपछि यसलाई एउटा संवैधानिक दुरुपयोग मान्दा हुन्छ ?
    बिल्कुल त्यही हो । योमात्र नभएर विगतमा गठन भएका संसदीय समिति पनि संवैधानिक दुरुपयोग हुन् । संसदीय समितिले निर्दोष र दोषीको सर्टिफिकेट बाँड्दै हिँड्ने हो भने देशमा दुईथरि कानून हुने भयो । एकथरि नागरिकलाई प्रहरी र अदालत, अर्काथरि विशेष नागरिकका लागि संसदीय समिति बन्ने भए । विधिको शासनमा यस्तो गर्न मिल्छ ?
    – प्रतिवेदनका सिफारिसहरु हेर्नुभयो होला, यसमा राजनीतिक पूर्वाग्रहको गन्ध पाउनुभयो कि भएन ?
    राजनीतिक पूर्वाग्रह प्रशस्त छ यसमा । यस्तो अभ्यासले विधिको शासनलाई कमजोर बनाउँछ । मलाई व्यक्ति विशेषसँग सरोकार होइन । रवि लामिछानेजीको सन्दर्भमा पनि जाहेरीको आधारमा अनुसन्धान गर्नुपर्‍यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij