शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट १० लाख आम्दानी

  • प्रकाशित मिति : शनिबार, मंसिर ८, २०८१



  • म्याग्दी। १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए। ‘बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,’ ४४ वर्षीय केसीले भने, ‘त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन्।’

    बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तला बिक्री भइसकेको र थप रु. चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए। हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ।

    पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै के.सी. मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री गर्छन्। सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाए। एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन्।

    ‘विदेशबाट फर्केपछि माछा, भैसी र बंगुर पाले,’ उनले भने, ‘माछा र बंगुर मरेर ठूलो नोक्सान भयो। भैसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो। सुन्तला र मौरी ब्यवसायबाट सफलता मिल्यो।’ कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ।

    मौरी सहितको प्रतिघार मौरी १० हजारका दरले बिक्री हुन्छ। म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ। ब्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन्। सुन्तला खेती र मौरीपालनबाट केसीको जिवनशैलीमा परिवर्तन आएको छ। छोराछोरी र श्रीमतिले केसीलाई कृषि फार्ममा साथ दिएका छन्।

    किसान केसीको सिको गरेर सुर्केमेलाका १६ कृषकहरुले ब्यवसायिक सुन्तला खेती गरेका छन्। सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुन्। चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए।
    बर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा रु. दश लाख भन्दा बढी कमाई हुने उनले बताए। सिचाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ। रसिलो, स्वादिलो सुन्तला काठमाडौं, पोखरा, बेनीका ब्यापारीले किनेर लैजान्छन्। सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij