प्रकाशित मिति : सोमवार, पुस २२, २०८१
नेपालगन्ज । आर्थिक वर्ष २०८१-०८२ को ५ महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जनाको उद्धार गरिएको थियो ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत साउन महिनादेखि मंसिरसम्म देशका विभिन्न स्थानमा भएको जंगली जनावरको आक्रमणमा ८३ जनाको मृत्यु भएको हो ।
जंगली जनावरतर्फ हात्तीको आक्रमणमा ६ जनाको मृत्यु हुँदा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ । त्यसैगरी गैंडाको आक्रमणमा ४ जनाको मृत्यु भएको थियो । विषालु सर्पको टोकाईबाट ७० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै प्रहरीका अनुसार हात्तीको आक्रमणमा १४ जना घाइते हुँदा ३ जनाको सकुशल उद्धार गरिएको हो भने बाघको आक्रमणमा २४ जना घाइते हुँदा ११ जनालाई उद्धार गरिएको थियो । गैंडाको आक्रमणमा १४ जना घाइते हुँदै गर्दा ४ जनाको उद्धार गरिएको थियो ।
विभिन्न स्थानमा जंगली भालुको आक्रमणमा कसैको पनि मृत्यु नहुँदा १५ जना भने घाइते भएको र २ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले तयार परेको रिपोर्टमा विषालु सर्पको टोकाईबाट ५३२ जना घाइते हुँदा सर्पका कारण जोखिम अवस्थामा रहेका २३६ जनाको उद्धार गरिएको छ ।
पछिल्लो समय देशका विभिन्न स्थानमा जंगली जनावरबाट हुने मानवीय क्षतिका घटनाहरु बढ्दै गएका कारण प्रहरी प्रधान कार्यालयले सम्भावित जोखिमयुक्त क्षेत्रहरुमा सकेसम्म नजान र सबैलाई सचेत गर्दै सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij