शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कैफियत भेटिएपछि खाद्यान्नको पुनः प्याकिङ बन्द

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०८१



  • घोराही । किराना तथा सुपर मार्केट पसलमा अब पुनः प्याकिङ गरी खाद्यान्न बेच्न नपाइने भएको छ । किरा लागेको तथा बिग्रिएको खाद्यान्न सामग्री पनि पुनः प्याकिङ गरी नयाँ प्याकिङ मिति राखी बिक्रीमा राखेको पाइएपछि खाद्यान्नको पुनः प्याकिङ बन्द गरिने भएको हो ।

    बजारमा खुलेका अधिकांश मार्ट र किराना पसलले पुनः प्याकिङ गर्दै अनुमति नलिएरै आफ्नो पसल वा फर्मको नाम र प्याकिङ मिति तथा म्याद सकिने मिति राखेर बिक्री गर्दै आइरहेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले अनुमति नलिएर मनपरि ढंगले प्याकिङ गरेर सामान बेच्नेलाई कारवाही हुने बताउनुभयो । उहाँले जिल्लाका धेरै मार्ट सञ्चालकलाई यस विषयमा जानकारी दिएको बताउँदै अनुमति नलिएर प्याकिङको काम नगर्न चेतावनी दिनुभयो ।

    ‘अनुमति नलिएर प्याकिङ गर्न पाइँदैन । हामीले सबै मार्ट तथा किराना पसललाई पनि यसो नगर्न भनेका छौं’– उहाँले भन्नुभयो– ‘प्याकिङको काम गर्ने भए नियमानुसार अनुमति लिएर काम गर्न सकिन्छ तर पसलमा मनपरिढंगले प्याकिङ गरी बेचेको देखिन्छ त्यसो गर्न पाइँदैन ।’ उहाँले अनुमति नलिएर प्याकिङ गरी बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार डिलाइट सुपर मार्केटले मात्रै प्याकिङको अनुमति लिएको छ भने घोराहीको सहकारी बजारले प्रक्रिया शुरु गरेको छ ।

    घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनारले अनुमति नलिएर पुनः प्याकिङको काम गर्न नपाइने बताउँदै बजार अनुगमनका क्रममा पुन प्याकिङ गरेको फेला परेमा सामान जफत गर्ने र कानुनबमोजिम कारवाही गरिने जानकारी दिनुभयो । ‘कानुनले बन्देज गरेको विषयमा हामी बोल्नैपर्दैन । नियमानुसार अनुमति लिएर प्याकिङ गर्न पाइन्छ तर आफूखशी मनपरि ढंगले प्याकिङ गरेर बेच्न पाइँदैन’– उहाँ भन्नुहुन्छ– ‘बोराबाट सामान निकालेर नयाँ प्याकिङ मिति राखेर बेच्ने गरेको पनि देखियो । अब अनुमति नलिएकालाई प्याकिङ गर्न नदिन कडाइका साथ अनुगमन गर्ने तयारी छ ।’ उहाँले मार्ट केन्द्रित अनुगमन भइरहेको बताउँदै आगामी दिनमा पुनः प्याकिङको काम अनुमति नलिएकाले बन्द गर्न समेत अनुरोध गर्नुभयो ।

    घोराही उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा लेबल पूरा नभएका तथा म्याद गुज्रेका सामग्री पनि बिक्रीमा राखेको पाइएको छ । मार्ट तथा किराना पसलमा अनुमति नलिएरै पुनः प्याकिङ गरेका सामग्री बिक्रीमा राखेको पनि पाइएको घोराही उपमहानगरपालिकाका सहायक केमिस्ट गणेश रेग्मीले जानकारी दिनुभयो । उहाँले नियमानुसार अनुमति बेगर आफै पुनः प्याकिङ गर्न नपाइने भएकोले यसो नगर्न पनि अनुरोध गर्नुभयो । बजारमा पुनः प्याकिङ मात्रै नभएर लेबल पनि पूरा नराखी प्याकिङ भएका सामग्री पनि फेला परेका छन् । काजु, किसमिस जस्ता खाद्य पदार्थमा धेरै कैफियत देखिएको र लेबल पूरा नभएका सामग्री विक्री वितरण नगर्न निर्देशन दिएको रेग्मीले जानकारी दिनुभयो ।

    लेबलमा के के खुलाउनुपर्छ ?

    स्टान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावलीले मोहरबन्द प्याकेजमा खुलाउनुपर्ने विवरणको बारेमा स्पष्ट उल्लेख गरेको छ तर खाद्यान्न प्याकिङ गरेकाले नै नियमावलीले उल्लेख गर्न भनेझैं गरेको देखिएको छैन । नियमावलीले उत्पादकले प्याकिङ गरेको मोहरबन्द प्याकेजको हकमा उत्पादकको नाम र ठेगाना, वितरक वा प्याकिङकर्ताले प्याकिङ गरेको मोहरबन्द प्याकेजको हकमा वितरक वा प्याकिङकर्ताको नाम र ठेगाना, आयात गरिएका प्याकेजको हकमा आयातकर्ताको नाम र ठेगाना, नेपाल बाहिर उत्पादन भएको तर नेपालमा आयात गरी प्याकिङ गरिएको भए आयातकर्ता र प्याकिङकर्ताको नाम र ठेगाना, उत्पादक, आयातकर्ता वा वितरकको सम्पर्क ठेगाना, टेलिफोन नम्बर, फ्याक्स वा इमेल, प्याकेजभित्र रहेका उपभोग्य वस्तुको नाम र परिमाण उल्लेख गर्नुपर्छ । त्यस्तै प्याकङिमा एकभन्दा बढी वस्तु रहेको भए प्रत्येक वस्तुको नाम र परिमाण, प्याकेजभित्र रहेको उपभोग्य वस्तुको खुद परिमाण, एकाइ वा संख्याको आधारमा बिक्री वितरण हुने वस्तुका हकमा प्याकेजभित्र रहेको वस्तुको जम्मा संख्या, उत्पादन तथा प्याकिङ गरिएको मिति र आयात गरिएको हकमा सम्भव भएसम्म आयात गरिएको वर्ष र महिना, अधिकतम खुद्रा बिक्री मूल्य तथा सम्भव भएसम्म प्याकेजभित्र रहेका वस्तुको आकारप्रकार उल्लेख गर्न भनेको छ ।

    अनुगमनमै भेटियो कैफियत

    घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमनका क्रममा सुर मार्केटमै म्याद गुज्रेका तथा किरा लागेका खाद्य बस्तु पनि फेला परेका छन् । उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार नेतृत्वको अनुगमन टोलीले युवी सस्तो मार्टमा दुई हजार सात सय ६० रुपैयाँ बराबरको म्याद गुज्रेको पावर इनर्जी ड्रिङ्क नष्ट गरेको छ । दशांैदी किराना पसलबाट प्याकिङ पाँच सय रुपैयाँ बराबरको बरफ नष्ट गरेको छ । न्यू फ्रेन्ड्स सुपर मार्केटबाट सुजी, दाल, भाई मसलालगायतको सात हजार दुई सय २० रुपैयँँ बराबरको म्याद गुज्रिएका खाद्य बस्तु नष्ट गरिएको छ । हरियो बजारबाट सात सय रुपैयाँ बराबरको म्याद गुज्रिएको सुजी नष्ट गरिएको छ । पुरी किराना पसलबाट तीन हजार एक सय ८५ रुपैयाँ बराबरको अखाद्य पेय पदार्थ तथा म्याद गुज्रेको खाद्य बस्तु नष्ट गरिएको छ भने केही फिर्ता परि विल पेश गर्न निर्देशन दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij