प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०८१
वीरगञ्ज । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका सञ्चारकर्मी सुरेश रजकको १३ औँ पुण्य तिथिमा नेपाल पत्रकार महासङ्घले वीरगञ्जमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
महासङ्घको दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधवार वीरगञ्जको घण्टाघरमा आयोजित कार्यक्रममा पत्रकार महासङ्घका पदाधिकारी र सञ्चारकर्मीहरूले दीप प्रज्वलन गरी रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा भएको कार्यक्रममा सञ्चारकर्मीहरूले रजकको मृत्युको न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । रजकको मृत्युको १३ दिन बितिसक्दा पनि घटनाको वास्तविकता बाहिर नआएको भन्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।
गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आयोजना गरेको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । सोही क्रममा आन्दोलनकारीले एउटा घरमा आगजनी गर्दा रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका क्यामेरा पत्रकार सुरेश रजकको आगलागीमा परेर दुखद निधन भएको थियो ।
नेपाल पत्रकार महासङ्घले घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणको संज्ञा दिँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
घटनाले नेपालमा पत्रकारहरूको सुरक्षाको प्रश्न फेरि एक पटक उब्जाएको छ । महासङ्घले आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij