प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सकिएलगत्तै यो बैठक बस्न लागेको हो।
पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार आजको बैठकले वरिष्ठ नेता वालेन्द्र साह (बालेन) लाई रास्वपा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको छ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेनलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव लडेको थियो।
निर्वाचनमा रास्वपाले १८२ सिटसहित ऐतिहासिक सफलता प्राप्त गरेपछि बालेनलाई संसदीय दलको नेता बनाउँदै सरकारको नेतृत्व गर्ने बाटो खुला गर्न लागिएको हो।
संसदीय दलको नेता चयन भएपछि रास्वपाले नयाँ सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँगको संवाद र सत्ता समीकरणको प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने बुझिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij