शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२



  • काठमाडौँ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढंगबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिनिधि सभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उनीहरूले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताए । उनले भने, “प्रतिपक्षमा रहेर सरकारका कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छौं । असल कामका लागि रचनात्मक सल्लाह र सुझाव दिन्छौँ । असल काममा पनि विरोध गर्ने शैली अब कसैले पनि अपनाउनु हुन्न ।”

    प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरत खड्काले काँग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने धारणा व्यक्त गरे । उनले भने, “विगतमा सरकार र पार्टी चलाउँदा कहीँकतै कमजोरी भएको छ, त्यस आधारमा यस पटक मतदाताले केही हदसम्म दण्ड पनि दिएका छन्, त्यसलाई स्वीकार्नुपर्छ । काँग्रेसले आफूलाई सुधार गर्दै समयसापेक्ष तुल्याउनुपर्छ । जनताले दिएको जनादेशअनुसार जवाफदेहिता र जिम्मेवारीपूर्वक परिपक्व र परिस्कृत ढंगले सदनमा प्रस्तुत हुन्छौँ ।”

    नेपाली कम्युष्टि पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए । उनले भने, “किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिस्कृत र सुदृढ तुल्याउने तथा प्रदेश मन्त्रिपरिषद्को सङ्ख्या घटाउन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न संविधान संशोधनलगायत विषयलाई आगामी अधिवेशनमा महत्त्वका साथ उठाइनेछ ।”

    आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव
    संघीय संसद्का पूर्वमहासचिव डा. भरतराज गौतमले वर्तमान सरकार र संसद्ले गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका योजना बनाउन सुझाव दिए ।

    उनले भने, “हाम्रा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न सकिने पक्षलाई ध्यानमा दिँदै आगामी बजेटमार्फत विकास र आर्थिक ‘एजेन्डा’लाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ । आर्थिक विकास नभई अन्य क्षेत्रमा त्यति धेरै सफलता प्राप्त गर्न सकिन्न ।”

    प्रतिनिधि सभा सदस्यका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij