प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२
काठमाडौँ / समयमै विस्तृत परियोजना रिपोर्ट (डीपीआर) स्वीकृत नहुँदा नारायणगढ–हेटौंडा र मुग्लिन–आँबुखैरेनी सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । एसियाली विकास (एडीबी) को सहुलियतपूर्ण ऋणमा यसको दुवै सडकको स्तरोन्नति गर्न लागिएको हो । फागुन दोस्रो साताभित्र ठेक्का आह्वान गर्ने तयारी आयोजना कार्यालयको थियो । तर समयमै डीपीआर स्वीकृत नहुँदा उक्त समयभित्र ठेक्का आह्वान हुन सकेन ।
अहिले डीपीआर सडक विभागमा स्वीकृत हुने प्रक्रियामा छ । यसमाथि छलफल भइरहेको छ । डीपीआर स्वीकृत गराएर एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारीमा रहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए । १९ मंसिरमा आयोजना कार्यालयले सडक स्तरोन्नति गर्ने खण्डमा नयाँ संरचना नबनाउन सार्वजनिक सूचना निकालेर अनुरोध गरेको थियो ।
‘सूचनाअनुसार घरटहरा हटाउने प्रयास भइरहेको छ, मुग्लिन–आँबुखैरेनी खण्डको निर्माण गर्न तनहुँको डुम्रेमा कार्यालय स्थापना गरिसकिएको छ, जहाँ कार्यालय प्रमुख पनि तोकिसकेको छ,’ प्रमुख ढकालले भने, ‘उक्त सडक खण्डमा दुई वटा पुल डिजाइन एन्ड बिल्डअन्तर्गत निर्माण गरिनेछ ।’ उनका अनुसार मुग्लिन बजारमुनिबाट र अर्को मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस कट्नासाथ पुल निर्माण गरिनेछ । मर्स्याङ्दी पावरहाउसबाट करिब ४ सय मिटर पर पक्की पुल बन्नेछ । त्यसपछि जामुनेसम्म ४ लेन सडक निर्माण गरिनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij