प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०८२
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतारचढावलाई कारण देखाउँदै इन्धनको मूल्य पुनः वृद्धि गरेको छ।
निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो।
यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ कायम भएको छ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर २५७ रुपैयाँ पुगेको छ। सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरिएको छ।
यो मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा नै रहने निगमले जनाएको छ। लगातारको यो वृद्धिले सर्वसाधारणको दैनिक जीवनयापन र बजार महँगीमा थप असर पर्ने देखिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij