शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

सरकारको प्रतिबद्धता : १५ लाख नयाँ रोजगारी, एक खर्बको अर्थतन्त्र

  • प्रकाशित मिति : बुधबार, बैशाख २, २०८३



  • काठमाडौँ — सरकारले पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रलाई १ खर्ब डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्यसहितको प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक उक्त मस्यौदामा आगामी पाँच वर्षमा औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य पनि राखिएको छ । यसबाट नेपाल मध्यम आय भएको मुलुकका दरिने पनि मस्यौदामा भनिएको छ ।

    मस्यौदामा मुख्य गरी कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, खनिज, सहकारी तथा लघुवित्तलगायत समग्र अर्थतन्त्रको सुधारलाई समेटिएको छ । बजारमा हुने ‘रेन्ट सिकिङ’, नीतिगत दोहन, कार्टेलिङ, अस्वस्थ प्रतिस्पर्धा तथा कृत्रिम अभावको अन्त्य गरी नवप्रवर्द्धन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गरी उद्योगमैत्री व्यावसायिक वातावरण निर्माण गरिने पनि मस्यौदामा उल्लेख छ । निजी क्षेत्रलाई राष्ट्रिय समृद्धिको प्रमुख संवाहकका रूपमा परिचालन गर्न व्यवसाय संरक्षण, लगानीका लागि भयरहित वातावरण सिर्जना गरिने, सार्वजनिक निजी साझेदारीमा आधारित नवप्रवर्द्धन, समावेशी आर्थिक नीति अवलम्बन गरिने मस्यौदामा भनिएको छ ।

    प्रतिबद्धताको मस्यौदामा आर्थिक क्षेत्रमा स्थायित्व र सुधारतर्फ नेपालको युवाकेन्द्रित जनसांख्यिक लाभांशलाई आर्थिक रूपान्तरणका रूपमा उपयोग गरी मुलुकलाई मध्यम आयमूलकमा स्तरोन्नति गरिने उल्लेख छ । निजी क्षेत्रको गतिशीलता, नवप्रवर्द्धन र सिर्जनशीलतालाई प्रवर्द्धन गर्न उद्धार अर्थनीति, सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरणको सन्तुलनसहित समग्र विकासको आधार तयार गरिने जनाइएको छ । यस्तै, आर्थिक रूपान्तरणका लागि निश्चित समयसम्म आर्थिक एजेन्डामा प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरी राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना, निर्यात वृद्धि र समष्टिगत आर्थिक स्थायित्वका राष्ट्रिय तथा क्षेत्रगत नीति तर्जुमा गरिने पनि प्रतिबद्धतापत्रको मस्यौदामा समेटिएको छ ।

    प्रतिबद्धतापत्रको मस्यौदामा समेटिएका आर्थिक लक्ष्यहरू सुन्दा र पढ्दा राम्रा भए पनि हासिल गर्न चुनौतीपूर्ण रहेको अर्थविद् तथा पूर्वसचिवहरूको भनाइ छ । कार्यान्वयन गर्न सके अर्थतन्त्रका धेरै समस्या समाधान हुने र आर्थिक गतिविधि चलायमान बन्ने पनि उनीहरूको भनाइ छ ।

    नयाँ जनादेशसहितको सरकारले राखेको आर्थिक लक्ष्यलाई सकारात्मक रूपमा लिनुपर्ने अर्थविद् डिल्लीराज खनालको तर्क छ । ‘रास्वपाले प्रतिबद्धता गरेर अरू राजनीतिक दलका घोषणापत्र, वाचापत्रमा समेटिएको राम्रा कुराहरू राष्ट्रिय प्रतिबद्धतापत्रमा समेटिएको छ,’ उनले भने, ‘यो सकारात्मक र नयाँ संस्कारको थालनी हो ।’ विगतमा कुनै पनि सरकारले अरू राजनीतिक दलहरूको घोषणापत्रलाई सम्बोधन नगरेको अवस्थामा दुईतिहाइ निकटको बलियो सरकारको यो कदमले जवाफदेहिता थप सुनिश्चित भएको खनालले बताए । ‘हरेक कुरामा पारदर्शिता भएपछि त्यसलाई कार्यान्वयन गर्ने कुरामा उत्तरदायित्व र जवाफदेहिता बढ्छ,’ उनले भने, ‘करका कुरामा अहिलेको प्रणालीमा के छ, पहिला त्यसमा पुनर्विचार गर्न जरुरी छ ।’

    यस्तै, प्रतिबद्धतापत्रको मस्यौदामा डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रूपमा विकास गरिने जनाइएको छ । करका दर र सर्तहरू दस वर्षसम्म स्थिर रहने गरी स्थायित्वसहितको कानुनी प्रत्याभूति गरिने सरकारको प्रतिबद्धतामा छ । ‘उद्योग दर्तादेखि नवीकरणसम्मका सबै प्रक्रियालाई कागजविहीन र हैरानीमुक्त बनाउन सरलीकृत डिजिटल प्रणाली लागू गरिने भएको छ,’ मस्यौदामा भनिएको छ, ‘निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडलमार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गरी पाँच वर्षमा बहुआयामिक गरिबीको दर १० प्रतिशतमा झारिनेछ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij