सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (AIGP) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि IGP को कमाण्ड सम्हाल्ने छन् ।
हालका IGP राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् ।
पौडेल IGP बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।
उनीसँगै IGP को बढुवाका लागि सीमा विभागमा कार्यरत AIGP वंशी दाहाल र कार्य विभागमा कार्यरत AIGP गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । तर उनीहरु पौडेल भन्दा जुनियर थिए ।
पौडेल ६ जेठ २०७९ मा AIGP मा बढुवा भएका थिए । राजु अर्याल IGP बनेपछि AIGP को रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो ।
आईजीपीको दोस्रो दाबेदारका रूपमा रहेका दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै AIGP मा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा AIGP मा बढुवा गरेको थियो । दाहाललाई AIGP बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो ।
ठाडा मगर भने उनीहरूभन्दा करिब २ वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै AIGP मा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा इन्स्पेक्टरमा भर्ना भएका थिए ।
पौडेलले १८ चैत २०८४ सम्म अर्थात दुई वर्ष संगठन प्रमुखको जिम्मेवारी निर्वाह गर्ने छन् । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत् २०८४ मा अवकाशमा जानेछन् ।
२०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका उनी सशस्त्र गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।
त्यसपछि उनलाई १८ असार २०५८ मा सशस्त्रको कामु DSP बनाइएको थियो । १८ चैत २०५८ मा उनी स्थायी बढुवा भएर डीएसपी बने ।
२९ चैत २०६३ मा SP मा बढुवा भएका पौडेल २ जेठ २०७० मा SSP भएका थिए । १३ कात्तिक २०७५ मा DIGP र ६ जेठ २०७९ मा उनी AIGP मा बढुवा भएका थिए ।