प्रकाशित मिति : आइतवार, बैशाख २०, २०८३
गोरखा / जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक जग्गामा बनेका व्यक्तिका घरटहरा एवं संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ । कार्यालयले मालपोत कार्यालय तथा ११ वटै स्थानीय तहलाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा त्यसको अभिलेख पठाउन आग्रह गरेको हो ।
सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्यका लागि सरकारी तथा सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन माग गरिएको हो ।
पालुङटार नगरपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना तत्काल हटाउन आग्रह गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले केही ठाउँका सार्वजनिक जग्गामा व्याक्तिहरूले अतिक्रमण गरी भोगचलन गर्दै आएको गुनासो आएको बताएको हो ।
८ बैशाखको कार्यपालिका बैठक तथा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिको बैठकले नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गा, नदीखोलाको वहब क्षेत्रको जग्गा, सरकारी जग्गा तथा ऐलानी/पर्ती जग्गामा अनुमति विना निर्माण गरिएका संरचना हटाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा नगरपालिकाले १५ दिनभित्र यस्ता संरचना हटाउन आग्रह गरेको हो । अवज्ञा गरी संरचना नहटाए प्रचलित कानुन बमोजिम नगरपालिकाले नै हटाउने पनि जनाइएको छ । नगरपालिकाले हटाउनु पर्ने अवस्था आए हटाउँदा लागेको खर्च सम्बन्धित व्याक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी दिइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij