प्रकाशित मिति : सोमवार, असार २९, २०८३
काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा दुई हजार आठ सय र चाँदीको एक सय रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ रहेको थियो।
यता, आइतबार प्रतितोला चार हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर चार हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij