बुधबार, भदौ १०, २०८३ | Wednesday 26th August 2026

कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण

  • प्रकाशित मिति : मङ्लबार, भदौ ९, २०८३



  • काठमाडौँ । सांसदहरूले मुलुकको कूटनीतिक अवस्था, जनस्वास्थ्यमा देखिएका गम्भीर समस्या, भौतिक पूर्वाधारको ढिलासुस्ती र बाढी–पहिरोको जोखिम जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    राष्ट्रिय सभाको मंगलवारको बैठकमा शून्य समयमा बोल्दै सांसद जगत तिमल्सिनाले नेपालको परराष्ट्र नीति र कूटनीतिक प्रतिनिधित्वमा देखिएको रिक्तताप्रति प्रश्न उठाए । ३१ वैदेशिक नियोगमध्ये २१ वटामा राजदुत नहुँदा ती नियोगहरू कार्यवाहकको भरमा चलिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

    उनले भने, ‘यो केवल प्रशासनिक ढिलाइ मात्र नभई नेपालको कूटनीतिक क्षमतामाथिको खेलबाड हो । आर्थिक र डिजिटल कूटनीतिको समयमा महत्त्वपूर्ण देशहरूमा राजदुत रिक्त हुनुले वैदेशिक सम्बन्ध सरकारको प्राथमिकतामा नरहेको देखिन्छ ।’

    स्वास्थ्य क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा सांसद खम्मबहादुर खातीले बाजुराको मार्तडीमा विशेषज्ञ चिकित्सक (एमडिजीपी) को अभाव हुँदा स्थानीय बासिन्दा स्वास्थ्य सेवाबाट विमुख हुनुपरेको बताए ।

    सांसद रेखाकुमारी झाले प्रादेशिक अस्पतालहरू, विशेष गरी जनकपुरको प्रादेशिक अस्पतालमा दक्ष चिकित्सकको अभाव र लापरबाहीका कारण सुत्केरी महिलाहरूको मृत्यु हुने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा बढी समय दिने गरेकाले अस्पतालको सेवा प्रभावित भएको उनको दाबी छ ।

    झापामा फैलिएको जापानी इन्सेफ्लाइटिसको प्रकोप र स्वास्थ्य मन्त्रालयको मौनताप्रति सांसद रोशनी मेचेले आपत्ति जनाइन्। साथै, वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका झापाका रमेश मेचेको शव २० दिन बितिसक्दा पनि स्वदेश ल्याउन नसकिएको भन्दै उनले कूटनीतिक पहलका लागि माग गरिन् ।

    तराईको बाढी र डुबान समस्याका बारेमा बोल्दै सांसद धर्मेन्द्र पासवानले रौतहटको लाल बकैया नदीको बाँध भत्किने जोखिममा रहेको र त्यसले १ हजारभन्दा बढी घरधुरी विस्थापित हुनसक्ने भन्दै तत्काल तटबन्ध निर्माणका लागि आग्रह गरे । उनले सर्प दंशको उपचारमा भ्याक्सिनको प्रभावकारितामाथि पनि प्रश्न उठाए ।

    पूर्वाधार र प्रशासनिक ढिलासुस्तीका विषयमा सांसद रञ्जित कर्णले राजविराजका ५२ हजार सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने सरकारको पूर्व सहमति अझै कार्यान्वयन नभएको गुनासो गरे । राजविराज–भारदह सडक खण्डको निर्माण कार्य अलपत्र परेको र गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य मन्त्रीको अनुगमन पछि पनि बिरामीको अवस्थामा सुधार नभएको उनले बताए ।

    सांसद वासुदेव घिमिरेले काठमाडौँको एक होस्टलमा दाङका वसन्त कालाथोकीको कुटपिटबाट भएको मृत्यु र त्यस लगत्तै उनकी आमाले गरेको आत्महत्याको घटनाबारे सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरे

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij