बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०८३



  • काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (IGP) डा. मनोजकुमार केसीले नेपाल प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै निष्पक्ष, व्यावसायिक र नागरिकमैत्री संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रहरी कर्मचारीका समस्या तथा गुनासा सम्बोधन गर्न आफ्नै सचिवालयमा उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणासमेत गरेका छन्।

    बुधबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि आयोजित कार्यक्रममा IGP केसीले संविधान र कानुनप्रतिको निष्ठाबाट विचलित नहुने तथा संगठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने बताए।

    नागरिकको सुरक्षा र सम्मानलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने उल्लेख गर्दै उनले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न व्यवहार र सेवा प्रवाहमा सुधार आवश्यक रहेको औँल्याए।

    ‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्,’ उनले भने।

    IGP केसीले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि र सङ्गठनभित्रका समस्या समाधानलाई विशेष प्राथमिकता दिने बताए। आधारभूत तहदेखि उच्च तहसम्मका प्रहरी कर्मचारीका गुनासा सुन्न र समाधानका लागि पहल गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सञ्चालन गर्ने उनको घोषणा छ।

    प्रहरी संगठनमा सीमित स्रोतसाधन, भौतिक पूर्वाधार तथा भवनको अभाव, लामो कार्यघण्टा र कर्मचारीको मानसिक स्वास्थ्यजस्ता समस्या रहेको उल्लेख गर्दै उनले ती विषयमा योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    त्यसैगरी, सरुवा तथा बढुवा प्रक्रियामा निष्पक्षता सुनिश्चित गर्ने विषयलाई पनि आफ्नो प्राथमिकतामा राखेको उनले बताए। संगठनभित्र व्यावसायिक वातावरण निर्माण गर्न कर्मचारीको कार्यसम्पादन र मनोबलसँग सम्बन्धित समस्या सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

    IGP केसीले प्रहरीको प्रभावकारी कार्यसम्पादनका लागि पर्याप्त स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सरकारसँग सहयोगको अपेक्षा गरे।

    प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोगसमेत आवश्यक रहेको उनको भनाइ थियो। संविधान र कानुनको अधीनमा रही निष्पक्ष ढंगले जिम्मेवारी निर्वाह गर्ने वातावरण बनाउन सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उनले बताए।

    IGP केसीले नागरिकसँगको सम्बन्धलाई प्रहरी संगठनको महत्त्वपूर्ण पुँजीका रूपमा उल्लेख गर्दै नागरिकले प्रहरीप्रति भरोसा गर्ने र प्रहरी कर्मचारीले आफ्नो पेसागत जिम्मेवारीप्रति गर्व गर्ने वातावरण निर्माणमा जोड दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij