प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०८३
काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसिरहेका प्राडा गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो । टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहनुभएको छ ।
मन्त्रालयले डा केसीले राखेका मागहरूप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनशनरत पक्षलाई आह्वान गरेको छ ।
डा केसी २५औँ सत्याग्रहमा रहेका छन् । इलाममा अनसन थालेका उनको स्वास्थ्यमा समस्या देखिएसँगै सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइ उपचार गरिएको छ ।
के छन् माग ?
डा केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाएर विवादित निर्णयहरू खारेज गर्न माग गरेका छन् । न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई चिकित्सा शिक्षा सञ्चालन गर्न अनुमति दिएको तथा विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गरिएको प्रति उनले आपत्ति जनाएका छन्।
आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता र निर्णयमा सम्भावित स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले सार्वजनिक संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने बताएका छन् ।
सरकारसँग २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका विषयमा भएको सहमति कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् । इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न माग गर्दै उनले यसबाट इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका नागरिक लाभान्वित हुने बताएका छन् ।
यस क्षेत्रमा मेडिकल कलेज नहुँदा नागरिकले महँगो शुल्क तिरेर बाहिर अध्ययन तथा उपचारका लागि जानुपर्ने बाध्यता रहेको र सरकारले कमिसनको लोभमा निजी अस्पताललाई उकास्ने नीति ल्याएको उनको दाबी छ।
सरकार परिवर्तन भए पनि नीति नबदलिएका कारण आफूले यस क्षेत्रमा सत्याग्रह रोजेको उनले स्पष्ट पारेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij