बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मुआब्जा नटुंगिँदा सडक विस्तार रोकियो

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४



  • जग्गाको मुआब्जा रकममा स्थानीयसँग सहमति नहुँदा वीरगन्जमा निर्माणाधीन एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाहबीचको सडक विस्तार हुन सकेको छैन । आईसीपी निर्माणको काम अन्तिम चरणमा रहे पनि दुई ठूला आयोजनाबीचको करिब ७ सय मिटर सडक खण्ड विस्तारले गति लिन नसकेको हो ।

    हाल सिर्सिया सुक्खा बन्दरगाहतर्फको मोडदेखि पश्चिम चण्डाल चोकसम्मको सडक चौडा रहे पनि त्यहाँबाट आईसीपी सम्म अत्यन्त साँघुरो छ । चौकी सञ्चालनमा आएपछि वीरगन्ज भन्सारको सम्पूर्ण कामकाज त्यहींबाट हुनेछ । हाल दैनिक करिब १ हजार मालवाहक सवारी साधन वीरगन्ज भन्सारबाट बाहिरिन्छन् । यति संख्यामा बाहिरिने र निर्यातका लागि त्यही बाटो प्रयोग गर्ने मालवाहक सवारीलाई उक्त साँघुरो बाटो छिचोल्न निक्कै सास्ती पर्छ ।

    जिल्लाकै यो प्रमुख सडकले ग्रामीण भेगबाट सदरमुकाम आवागमन गर्ने जिल्लावासीको ठूलो चाप पनि थेग्दै आएको छ । चाँडै नै त्यहाँ ठूलो संख्यामा मालवाहक सवारी गुड्न थालेपछि सर्वसाधारणले यो सडकबाट आवागमनका लागि ठूलै सास्ती भोग्नुपर्ने हुन्छ ।

    वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा सडक विस्तारको काम सुरु नहुँदा भविष्यमा ठूलो समस्या आउने बताउँछन् । ‘आईसीपी वर्षाअघि नै तयार हुने सम्भावना छ,’ उनले भने, ‘तर सडक विस्तारको काम अझै सुरु भएकै छैन, आईसीपी सञ्चालनमा आएपछि हामीले निकै ठूलो समस्या भोग्नुपर्छ ।’

    सडक विस्तारको ठेक्का पप्पु र लुम्बिनी कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा पाएका छन् । पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुमित रौनियारले आफू काम गर्न तयार भए पनि सडक छेउको स्थानीयको जग्गाको मुआब्जा दिने काम सम्बन्धित निकायले गरी नसकेकाले आफूलाई काम थाल्न समस्या भएको बताए । ‘कम्तीमा सडकको २५/२५ मिटर दायाँबायाँ जग्गा उपलब्ध नगराइए काम थाल्नै सक्दैनौं,’ रौनियारले भने, ‘स्थानीय प्रशासनले यस विषयमा अग्रसरता देखाएर सकेसम्म चाँडो मुआब्जा वितरणको काम सक्नुपर्‍यो ।’

    प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले मुआब्जा विवाद समाधानको प्रयास जारी रहेको बताए । यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सरोकारवालाहरूको एक समितिले हालसम्म प्रतिवेदन नबुझाएको उनको भनाइ छ । ‘मैले समितिलाई सडक खण्डमा रहेको स्थानीयको जग्गा र अन्य संरचनाको पनि एकमुष्ट तथ्यांक ल्याउन भनेको छु,’ उनले भने, ‘हाल यसका लागि आवश्यक बजेट पनि छैन, केही दिनअघि अर्थमन्त्री र अर्थ सचिव यहाँ आउँदा यसबारे जानकारी गराएँ, उहाँहरूले तत्कालै बजेट निकासा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।’ पछिल्लो समय निर्वाचनको कारण पनि सडकको काम केही ओझेलमा परेको उनले बताए ।

    सडक विस्तारमा अवरोध
    सिन्धुपाल्चोक– अव्यवस्थित पाइप र विद्युत्को पोलका कारण सडक विस्तारमा अवरोध उत्पन्न भएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाले सडक फराकिलो बनाउने क्रममा खानेपानी पाइप र विद्युत् पोलले विस्तारमा अवरोध भएको जनाएको छ ।

    नगरपालिकाले सडक दायाँबायाँका ५/५ मिटर संरचना हटाउन थालेको छ । संरचना हटाउँदा सडकबीच विद्युत् पोल, पाइप भेटिएका छन् । यसरी बीचमा परेका पोल पहिले सडक किनारमा थिए भने पाइप गाडिएका थिए ।

    सडक विस्तारको काम पाइप र पोलले अवरोध गरेको साँगाचोकगढी नगरपालिकाका सबइन्जिनियर रामहरि नेपाल बताउँछन् । ‘विद्युत्को तार टाँगिएको खम्बा सडकबीच ठडयाइएको छ भने पाइप अलपत्र बनेका छन्,’ इन्जिनियर नेपालले भने, ‘पाइप र पोलले सडक विस्तार रोकिने अवस्थामा पुगेको छ ।’ उनले विद्युत् प्राधिरकणले सडक मापदण्डबमोजिम पोल नगाडेकाले समस्या देखिएको बताए ।

    नगरपालिकाले सडकबाट ५ मिटर पर्ने घरका पेटी भत्काउन थालेपछि स्थानीयले पनि साथ दिन थालेका छन् । सडक फराकिलो बनाउन चौताराका स्थानीय स्वयं आफ्ना संरचना हटाउन लागेका छन् ।
    सडकबीचका पोल तथा पाइपले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । ‘सडकको बीचमै पोल छन्,’ चौतारा बजारका कमल सापकोटाले भने, ‘बेलैमा पोल र पाइप व्यवस्थित नगरिए सडक विस्तारको अर्थ रहँदैन ।’ उनले बजारका संरचना भत्काउन थालेसँगै फराकिलो देखिए पनि पोल र पाइपले दुर्घटनाको जोखिम बढाएकामा चिन्ता व्यक्त गरे ।

    जिल्लाभर सडक विस्तारको अभियानअन्तर्गत चौतारामा पनि काम सुरु गरिएको नगरपालिका प्रमुख उमाकान्त अधिकारीले बताउँछन् । ‘नगर परिषद्को निर्णयअनुसार सडक सुधार गर्ने काम थालिसकेका छौं,’ उनले भने, ‘पोल र पाइपको व्यवस्थापन गरी अवरोध हटाउने तयारी थालिएको छ ।’

    नगरपालिकाले सडकको संरचना हटाउन १० दिनअघि सूचना जारी गरेको थियो । सूचना बेवास्ता गरिएका संरचनालाई नगरपालिकाले एक्साभेटर लगाएर हटाएको थियो । दोहोरो सवारी चलाउन सडक सुधारको काम धमाधम भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij