प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४
उन्नति प्रोजेक्ट र १० वटा बैंक तथा वित्तीय संस्थाबीच नेपालको पूर्वी पहाडी क्षेत्रका ७ जिल्लामा कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
सोमवार राजधानीमा आयोजित एक कार्यक्रमबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
उद्यमशीलता विकास तथा साना किसानलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम थालिएको उन्नति प्रोजेक्टले जनाएको छ ।
सम्झैता अनुसार इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन हुने छन् ।

यस कार्यक्रममा सहकार्य गर्ने बैंक तथा वित्तिय संस्थाहरुमा प्रभु बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, आईएमई, छिमेक लघुवित्त, सहारा सहकारी, जीवन विकास वित्तीय संस्था, एनएमबी माइक्रो फाइनान्स र फरवार्ड माइक्रो फाइनान्स रहेका छन् ।
कार्यक्रमका लागि डेनमार्क सरकारको आर्थिक एवम् संयुक्त राष्ट्रसङ्घ पूँजी विकास कोष (यूएनसीडीएफ)को प्राविधिक सहयोग रहेको छ । कार्यक्रम कार्यान्वयनमा भने नेपाल राष्ट्र बैङ्कको सहयोग रहेको छ ।
जिल्लाहरुमा वित्तीय सेवामा पहुँच पुर्याउनका लागि उन्नति प्रोजेक्टले तोकिएका बैङ्कहरूलाई १८ लाख डलर सहयोग गर्नेछ । कार्यक्रमका लागि बैङ्क तथा वित्तीय संस्थाले पाउने आर्थिक सहयोगबाहेक ४० देखि ६० प्रतिशतसम्म आफैले पनि लगानी तथा योगदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताअनुसार तोकिएका बैङ्क तथा वित्तीय संस्थाले गर्ने सहयोग विशेष गरेर समावेशी तथा साना किसानलाई प्रोत्साहन गर्न र महिला उद्यमशीलता बढाउनमा केन्द्रित रहने छ ।
उन्नति प्रोजेक्टले ग्रामीण क्षेत्रका करीब २ लाख ५० हजार किसानमा वित्तीय सेवा र पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij