प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४
वालिङ, २९ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ । “पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो”, स्थानीयवासी हरिलाल विकले भने, “लाइनमा बसेर जसोतसो पानी भर्छौं तर त्यो पर्याप्त छैन ।”
हामीलाई पिउने पानीको निक्कै समस्या छ भने गाईवस्तुलाई खुवाउन र नुहाई धुवाई गर्ने कुरा धेरै परको भो, विक बताउनुहुन्छ । २७ घरधुरीको बीचमा एउटा धारा रहेको छ जहाँ पाँच किमी परबाट पाइपको मार्फतबाट पानी ल्याइएको छ । “गाउँमा पानीको अभाव भएपछि कुनै बेला हामीले आधाआधा गाग्री पानी पनि बाँडेर खानुपरेको अवस्था छ”, स्थानीयवासी लक्ष्मी विकले भनिन्, “के गर्नु पानीको प्यास मेटाउनै पयो ।”
पानीको अभावमा त्यहाँका स्थानीय दलित समुदायले झन्डै एक घन्टाको पैदल दूरी हिँडेर पानी लिन जानुपर्ने बाध्यता छ भने त्यहाँ पनि पालो पर्खनुपर्दा समय निक्कै खर्र्चिनुपर्ने बाध्यता रहेको सुनाउँछन्, स्थानीयवासी बाबुराम विक । उम्मेदवारहरु घरदैलो तथा भेटघाटमा पुगेका बेला स्थानीयवासीले दलित बस्तीमा मुख्यगरी पानीको समस्या रहेको बताउँदै यो समस्या समाधानमा लाग्न नेताहरुलाई आग्रह गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij