बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

समुदायको सहभागितामा काष्ठमण्डप पुनःनिर्माण सम्झौता

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • काठमाडौँ उपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने भएको छ ।

    काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका (कामपा)ले सहयोग गर्ने सम्झौता भएको छ । समुदायका तर्फबाट काष्ठमण्डप पुनःनिर्माण अभियानले काठमाडौँको नामकरण भएको ऐतिहासिकस्थलको पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्नेछ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्राधिकरण, विभाग, कामपा र अभियानका बीचमा दुई वर्षमा निर्माण गरिने १५ बुँदे महत्वाकाङ्क्षी सम्झौता गरिएको हो ।

    समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यामलाल भुसाल, विभागका महानिर्देशक भेषनारायण दाहाल, कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गरे।

    हस्ताक्षर कार्यक्रममा उपस्थित उद्योगमन्त्री नवीन्द्रराज जोशीले टिम्बर कर्पोरेसनबाट सबैभन्दा राम्रो काठ आपूर्ति गर्न मन्त्रिपरिषद्मै निर्णय भइसकेको जानकारी दिए।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले काष्ठमण्डप सार्वजनिक तथा निजी साझेदारी अवधारणानुसार पुनःनिर्माण हुन लागेकाले अन्यत्र पनि यस्तै गर्न सके पुनःनिर्माणले तीव्रता पाउने बताए । “काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवम् संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर, पारदर्शी रुपमा निर्माण कार्यलाई नमुना बनाउने अभियानमा लाग्नुपर्छ, दुई वर्षमा काण्ठमण्डप पुनःनिर्माणको अभियानले पूर्णता पाउनुपर्छ”, उनले भने।

    कामपाका प्रमुख कार्यकारी अधिकृत पौडेलले काष्ठमण्डप पुनःनिर्माणका क्रममा आवश्यक पर्ने निर्माण सामग्रीको गुणस्तर विभागले हेर्नुपर्नेमा जोड दिए । काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले मूल जिम्मेवारी लिनेछ । समझदारीमा लेखिएको विषयमा त्यसैअनुसार र नलेखिएका विषयमा अभियानले प्राधिकरणसँग प्रक्रिया पूरा गरेर काम गर्नुपर्ने उल्लेख छ ।

    समझदारीपत्र कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा चारै पक्षबीच आपसी समझदारीका आधारमा विवादको समाधान गरिने तर समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट गरिने निर्णय अन्तिम हुने सम्झौतामा उल्लेख छ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७२ ले प्राधिकरणलाई दिएको अधिकार प्रयोग गर्नबाट यो समझदारीले बाधा नपार्ने प्राधिकरणले जनाएको छ ।

    काष्ठमण्डप पुनःनिर्माण गर्दा विभागले प्राचीन स्मारक संरक्षण ऐन
    (संशोधन सहित) २०१३ र नियमावली २०४६, भूकम्पपश्चात् सम्पदा पुनःनिर्माण गर्नेसम्बन्धी कार्य निर्देशिका २०७२ र प्रचलित मापदण्डबमोजिम पुनःनिर्माण गराउनुपर्नेछ । विभागले मापदण्डबमोजिम भए नभएको अनुगमन तथा निरीक्षण गरी अभियानलाई आवश्यक निर्देशन दिन सक्ने व्यस्था गरिएको छ ।

    काष्ठमण्डप पुनःनिर्माणका क्रममा सम्बन्धित क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गरेका सांसद तथा स्थानीय तह र समुदायका प्रतिनिधिको रायसुझाव लिई प्राविधिकको सिफारिसअनुसार पुनःनिर्माण गरिने प्रवक्ता भुसालले बताए। पुनःनिर्माण अभियानले पुनःनिर्माणमा भएको अद्यावधिक प्रगति विवरण प्रत्येक तीन महिनामा चार वटै प्रतिनिधिको बैठक बोलाई जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

    विश्व सम्पदा सूचीमा समावेश भएको विशिष्ट प्रकृतिको सम्पदा भएको हुँदा प्रत्येक नेपालीलाई काष्ठमण्डप पुनःनिर्माण अभियानमा सहयोग गर्ने अवसर प्रदान गरिने अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बताए। “नेपालको राष्ट्रिय गौरवको सम्पदा नेपालीकै सहयोगमा पुनःनिर्माण गर्ने अभियान सञ्चालन गर्ने दायित्व हामी सबैको हो”, उनले भने । अब सरकार र सम्बन्धित निकायले प्रदान गर्ने सहयोग अभियानमार्फत उपलब्ध गराउनुपर्नेछ ।

    अभियानले सङ्कलन गरेको वा प्राप्त गरेको रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिने समझदारी भएको छ । चन्दादाताको पहिचानसहितको विवरण प्राधिकरणलाई जानकारी गराई पारदर्शी रूपमा व्यवस्थापन गर्ने दायित्व पनि अभियानको हुनेछ ।

    चारै पक्षको सहमतिबाट निर्माणसम्बन्धी कार्यविधि बनाई प्राप्त बजेट खर्च गर्नुपर्नेछ । कामपाले काष्ठमण्डप पुनःनिर्माणमा लाग्ने काठलगायत जिन्सी सामग्री उपलब्ध गराउनु पर्नेछ । अभियानले त्यस्ता जिन्सी सामानको गुणस्तर प्राविधिकबाट निर्धारण गरी कामपालाई जानकारी गराउनु पर्नेछ । समझदारीपत्र आजैदेखि लागू भई काष्ठमण्डप पुनःनिर्माण नभएसम्म कायम हुनेछ ।

    भूकम्पपछि विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को पहलमा काष्ठमण्डपमा भएको उत्खननले सातौँ शताब्दीमै यो ऐतिहासिकस्थल बनेको तथ्य फेला परेको छ । यसअघि काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको ‘नाम सङ्गीति ग्रन्थ’मा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले जानकारी दिए।

    बाह्राँै शताब्दीमा बनेको तथ्य फेला पर्नुअघि १७ औँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लको पालामा बिसेत नाम गरेका मानिसले एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको कुरा विभिन्न कृतिमा उल्लेख छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij