प्रकाशित मिति : शनिबार, बैशाख ३०, २०७४
कोरियाको ख्याङ्सङ् बुक्दो नजिकै एक बंगुर फार्ममा कार्यरत २ नेपाली कामदारको मृत्यु भएको छ। इपिएस मार्फत कोरिया प्रवेश गरेका स्याङ्जाका तेज बहादुर गुरूङ र कैलालीका छबी लाल चौधरीको गएराति करिब ९ बजे तिर बुंगुरको पिसाब जम्मा हुने भूमिगत ट्यांकी सफा गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको मक्पो चौतारीका पूर्व अध्यक्ष रोशन पौडेलले जानकारी दिए।
ट्यांकी सफा गर्ने क्रममा एक्कासी बेहोस अबस्थामा ढलिरहेको अन्य नेपाली साथीहरुले देखेपछि बाहिर निकालेका थिए। एम्बुलेन्स आउन केही ढिला गरेकोले अस्पताल पुर्याउँदै उनीहरुको मृत्यु भइसकेको अनुमान गरिएको छ। त्यस्तै घटना रहस्यमय भएको भन्दै कम्पनीका मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शबलाई प्रहरीले नजिकैको आङ्दोङ्ग अस्पतालमा राखेको छ।
२५ वर्षीय गुरूङ ३ वर्ष पहिला कोरिया प्रवेश गरेका थिए भने चौधरी कोरिया आएको मात्र २ महिना भएको थियो। ११ जना नेपाली कामदार कार्यरत रहेको उक्त कम्पनीमा मृतक गुरुङ नेपालीहरूका टिम क्याप्टेनसमेत थिए।
बंगुरको पिसाब संकलन हुने भूमिगत ट्यांकीमा अक्सिजनको कमि हुने र बिषालु ग्यास जम्मा भइरहने हुँदा उनीहरु निसासिएर बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ। यो घटनाभन्दा केहि महिना पहिले कोरियाको छन्जुस्थित सल्यानका एक नेपाली कार्यरत एउटा बंगुर फार्ममा ट्यांकी सफा गर्ने क्रममा फर्मका मालिकको निशासिएर मृत्यु भएको थियो।
घटनाबारे सोलस्थित नेपाली दूतावासलाई अनौपचारिक जानकरी आएको र औपचारिक जानकारी पछि छिट्टै घटनास्थल पुगेर सत्य तथ्य बुझ्ने कार्यबाहक राजदूत किरण शाक्यले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij