प्रकाशित मिति : बिहिबार, जेष्ठ ४, २०७४
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चीनको राजधानी बेइजिङमा आयोजित ‘एक क्षेत्र एक मार्ग’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ओबिओआरमा भाग लिई आज राति स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उन्ले पत्रकारसँग संक्षीप्त कुराकानी गर्दै ‘एक क्षेत्र एक मार्ग’को अवधारणाले पूर्वाधार विकास, रेल मार्ग निर्माण र चीन–नेपाल सीमा नाकाको सञ्चालन तथा व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
गत वैशाख ३१ र जेठ १ गते ९मे १४–१५० मा बेइजिङमा भएको सम्मेलनमा भाग लिन उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा विश्वका २९ देशका राष्ट्रप्रमुख, १०० जना मन्त्री र त्यतिकै सङ्ख्यामा विभिन्न सङ्घ र संस्थाका प्रतिनिधिसहित एक हजार २०० प्रतिनिधिहरूको सहभागिता थियो ।
नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा सञ्चार मन्त्री कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित आठ सदस्यीय प्रतिनिधिमण्डलले उक्त सम्मेलनमा सहभागिता जनाएको थियोे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij