
सगमाथामा निर्वासित धर्मगुरु तथा तीब्बतका पूर्व शासक दलाई लामाको झन्ड फहराएको बारे पर्यटन विभागले छानविन अगाडि बढाएको छ। गएको आइतबार सगरमाथा आरोहण गरेका एक आरोहीले दलाईलामाको झन्डा सगरमाथामा फहराएर आएको भन्ने सुचना आएपछि विभागले छानविन अगाडि बढाएको हो।
त्यसरी झन्डा फहराएको बारेमा स्पष्ट प्रमाण प्रप्त नभएकोले सत्यतथ्य छानविन गर्नको लागि विभागले प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए।
झन्डा फहराएको बारेमा केही सुचना आएको र आफूले पनि संचारमाध्यमबाटै थाहा पाएको जानकारी दिँदै भट्टराईले सुचनाको सत्यता परीक्षण भएपछिमात्र प्रष्ट हुने बताए।
‘आधिकारीक सुचना आएको छैन, हामीले पनि बुझ्ने प्रयास गरेका छौं’ भट्टराईले सेतोपाटीसँग भने,‘सगरमाथाको टुप्पोमा नपुगुन्जेल त्यो कुरा थाहा पनि हुँदैन हामीले त्यही सुचना संकलन गरिरहेका छौं।’
तर पर्यटन मन्त्रालय सम्बद्ध अधिकारीहरुका अनुसार सगरमाथामा दलाई लामाको झन्डा फहराएको भन्ने सुचना आएको बताउँछन्। आधिकारीकता जाँच गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउनको लागि पर्याप्त सुचना आउको उनीहरुको भनाइ छ।
तर भट्टराई भने यो संवेदनशिल विषय भएकोले हल्का सुचना तथा जानकारीकै भरमा आफुहरुले कुनै पनि ठोस धारणा सार्वजनिक गर्नु उपयुक्त नहुने बताउँछन्।
पर्यटन मन्त्रालयले भने त्यसरी झन्डा नेपालबाट गएकाले फहाराएकाे हाे कि तीब्बततिरबाट अाएकाेले भन्ने कुरा पनि एकिन नहुने बताएकाे छ। दुबैतिरबाट अाराेहीहरु अाउने भएकाेले यसमा एकिन गर्न गाह्राे हुने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।