प्रकाशित मिति : सोमवार, असार १९, २०७४
अविरल वर्षासँगै पोखरा–लेखनाथ महानगरपालिकाको प्रस्याङपाखा र लामाचौरमा गएको पहिरोमा पुरिएर दुईको मृत्यु भएको छ । प्रस्याङपाखामा १४ वर्षीय टंक क्षेत्री र लामाचौरमा ३२ वर्षीया शोभा पौडेलको मृत्यु भएको हो ।

आइतबार बिहान ४ बजेतिर गएको पहिरोले तारापति अधिकारीको दुईतले घर पुर्दा क्षेत्री पनि पुरिएको प्रहरीले जनाएको छ । स्याङ्जा गल्याङ–५ का उनी ठूलीआमाको घरमा पाहुना हुन आएका वेला पहिरोमा पुरिएका हुन् । उनी प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयमा ८ कक्षामा अध्ययनरत थिए ।
त्यस्तै, शनिबार साँझ पोखराको फुस्रेखोलाले बगाएर पर्वत राम्जा–६ तिलहारकी ५५ वर्षीया लीलाकुमारी लामिछाने बेपत्ता भएको प्रहरीले जनाएको छ । छोरी जमुना खड्काको घरमा आउँदै गर्दा खोलाले उनलाई बगाएको हो ।
कास्कीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार सराङकोटको मेथलाङ डाँडाबाट बगेको पहिरोले प्रस्याङपाखाका आधा दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । फिर्केखोला थुनिँदा किनारामा घर बनाएर बसेका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । मालेपाटन, छोरेपाटन, दोबिल्ला, विन्ध्यवासिनी, घारिपाटन, लामाचौर, बाटुलेचौरलगायतका क्षेत्रमा जमिनमा ठुल्ठूला भ्वाङ परेका छन् ।
मनसुन सक्रिय भएसँगै पोखरामा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । मौसम विभागका अनुसार पोखरामा २४ घन्टामा १९१ मिलिलिटर पानी परेको छ । पोखरामा १८ अगस्ट २००१ मा सबैभन्दा धेरै ३५७ मिलिलिटर पानी परेको रेकर्ड छ ।
-पहिरोमा परी पोखरामा दुईको मृत्यु, फुस्रेखोलामा महिला बेपत्ता
-पर्वतको होस्राङदीमा पहिरोले घर बगायो, दुईको मृत्यु, एक बेपत्ता
-प्युठानमा एक बालिकाको मृत्यु, दुई बेपत्ता
-तटबन्धकै कारण बाँके फत्तेपुरका सात गाउँ बाढीको जोखिममा
पर्वतमा दुईको मृत्यु, एक बेपत्ता
पर्वतको महासिला गाउँपालिका–१ मा शनिबार राति गएको पहिरोले घर बगाउँदा एकै परिवारका दुईको मृत्यु भएको छ । एक बेपत्ता छन् । साबिकको होस्राङदी गाविस–१ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर पहिरोले बगाउँदा उनीसहित पत्नी यमकुमारीको मृत्यु भएको छ । मल्लकी ८० वर्षीया आमा बेलकुमारी बेपत्ता रहेको होस्राङदीका वडाध्यक्ष ईश्वरी भुसालले बताए ।
पोखरा–बाग्लुङ राजमार्ग ६ स्थानमा अवरुद्ध
दुई दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोले पोखरा–बाग्लुङ राजमार्गको पर्वत खण्डमा मात्रै ६ स्थानमा सडक अवरुद्ध भएको छ । राजमार्ग सुचारु गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीको टोलीले सडक डिभिजन कार्यालय बाग्लुङको सहयोगमा आइतबार बिहान डोजर परिचालन गरी सञ्चालनमा ल्याइएको छ ।
प्युठानमा पहिरोमा पुरिएर एकको मृत्यु, दुई बेपत्ता
पहिरोले घर पुरिँदा बेपत्ता भएकी बालिका आइतबार मृत अवस्थामा फेला परेकी छिन् । अझै दुईजना बेपत्ता छन् । शनिबार रातिको अविरल वर्षासँगै झरेको पहिरोले घर पुरिँदा गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया जयकली घर्ती बेपत्ता भएकी थिइन् । पहिरोले च्यापिएको अवस्थामा आइतबार उनको शव भेटिएको छ ।
त्यस्तै, नौबहिनी गाउँपालिका–२ कुर्तिवाङमा गोठ बगाउँदा भित्र सुतिरहेका दाजुभाइ १५ वर्षीय जगुमान घर्ती र ११ वर्षीय सुनील घर्ती बेपत्ता भएको स्थानीयले बताएका छन् । शनिबार रातिदेखि उत्तरी प्युठानका गाउँहरूमा सञ्चार असुविधाले प्रहरी कार्यालयमा बिहान खबर आएकाले पनि साँझ ६ बजे मात्र प्रहरी टोली घटना पुगेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी रञ्जितसिंह राठौरले बताए ।
तटबन्धकै कारण फत्तेपुरका सात गाउँ बाढीको जोखिममा
फत्तेपुर (बाँके) । बाढीबाट जोगाउन जनताको तटबन्धले राप्ती नदीमा पक्की तटबन्ध बाँधेपछि राप्ती–सोनारी गाउँपालिका–७ का सात गाउँ जोखिममा परेका छन् । पक्की तटबन्धले गेन्दवा, भर्था, पहाडीपुर, शान्तिपुर, भवनियापुर, भदुह्वा, खल्ला झगडियालगायतका गाउँ डुबानमा पर्ने खतरा रहेको खल्ला झगडियाका जागेश्वर मौर्यले जानकारी दिए । उनले एकातिरबाट राप्ती नदीको बाढी र अर्कोतिर पहाडबाट आएको पानीले गाउँ डुबानमा पर्ने बताए ।
साबिक फत्तेपुर गाविसको सिधनवाभन्दा माथि पक्की तटबन्ध छ । तर, सिधनवा र खल्ला झगरियाको बीचमा पर्ने ठूला भूभागमा तटबन्ध नबनाउँदा त्यहाँका बासिन्दा असुरक्षित भएका छन् । पहिलेको भन्दा यो वर्ष झनै असुरक्षित भएको राप्ती–सोनारी–७, भर्थाका सद्दाम हुसैनले बताए । जनताको तटबन्ध कार्यक्रम पश्चिम सेक्टर लमहीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विनोदकुमार चापागाईंले बाढी पस्ने ठाउँमा नै पक्की तटबन्ध गरेको बताए । नयाँ पत्रिकाबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij