प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
दैलेख । दक्षिण एशियाकै लोपोन्मुख जाति राउटे समुदायले बनाएका भाँडाकुँडा विक्री हुन छाडेका छन् । गाउँ गाउँमा सडकपुगेङ्गै प्लास्टिकका भाँडाकुँडा आयात हुन थालेपछि राउटे समुदायका भाँडाकुँडा कम विक्री हुन थालेका हुन् ।
कु—काठबाट बनाइएका भाँडाकुडा कम बिक्री हुन थालेपछि आफ्नो जनतालाई कसरी पाल्ने भन्ने चिन्ता लाग्ने गरेको राउटे महामुखिया महिनबहादुर शाहीले बताए । ‘गाउँमा भने जस्तो काठ पाइन छोड्यो । नराम्रो काठका भाँडा कसैले राख्दैनन् । राम्रो काठ पाउँदैनौं । मेरा जनता भोकले मर्छन्, उनले भने, ‘ बञ्चरो, बासुल्लो र छिनोको सहायताले काठबाट कोशी, आरी, खाट, झुमाआदि बनाउने गरेका छन् ।
अन्नसँग मात्र भाँडाकुँडा साट्ने गरेका उनीहरुले आधुनिक परिवर्तनसँगै रूपैयाँमा बिक्री गर्न थालेका हुन् । नेपाल सरकारले राष्ट्रिय वनक्षेत्रलाई समुदायमा हस्तान्तरण गर्ने नियमले सबैभन्दा ठूलो समस्या यो जातिलाई परेको स्थानीय बुद्धिजिवीहरु बताउँछन् । राष्ट्रिय वनमा राउटेले जथाभावी काठ काट्ने गर्दथे । समुदायमा हस्तान्तरण भएपछि आफु खुशी रुख काट्न नपाइने हुँदा खानाको जोहो लागि समस्या हुने गरेको राउटे सँग काम गर्दै आएका अछाम भैरवस्थान–९ का धनबहादुर विसीले बताए ।
संविधानमा घोषणा हुनु अगावै राउटे समुदायका अगुवाले काठमाडौं पुगेर नेपाल सरकारका उच्च पदाधिकारीसँग भेट गरी आफूहरुलाई स्वतन्त्ररुपमा जङ्गल र काठ काट्न पाउनुपर्ने, लोपोन्मुख भत्तामा बृद्धि गर्नुपर्ने माग राखेका थिए । राउटे समुदायका महाशत्रु स्थायी बसोबास लेखपढ र खेतीपाती भएकाले नेपाल सरकारका उच्चपदाधिकारीले गरेको आग्रहलाई उनीहरुले अस्वीकार गरेका थिए ।
नेपाल सरकारले नेपालको एकमात्र भ्रमणशील समुदाय लागि छुट्टै कार्ययोजना बनाई लागू गर्नुपर्ने कटेम्पोररी भिजन नेपालका हरि थापाले बताए । उनले भने, ‘यो समुदाय नेपालको सम्पदा र मध्यपश्चिमको गहना हो । यो जातीको संस्कार संस्कृतिलाई बचाई राख्न लोप हुन नदिन समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्रीहरुले अध्ययन थालिनुपर्छ’ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij