प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
उनीमाथि कैयौं पटक आक्रमण भयो, ढुङ्गाले हानियो, टाउको फुट्यो । गोरु बाँध्ने डोरीले बाँधिएको अनुभव पनि छ उनीसँग । जाँड रक्सी अनिवार्य रहेको राई–लिम्बुको संस्कार सुधार्ने तथा प्रेम, शान्ति र अहिंसाको अभियानमा लागेका थिए उनी । परम्परागत संस्कार बदल्न त्यति सजिलै कहाँ सकिन्थ्यो र ! त्यसमाथि त्यतिबेला उनी एक फुच्चे न थिए । त्यसैले त संस्कारविरुद्ध लागेको भनेर उनीमाथि अमानवीय व्यवहार समते भएका थिए ।
उनै फुच्चे अर्थात भक्तबहादुर राई अहिले निरन्तरको लगावपछि समाजमा आफ्नो ‘मौलिक दर्शन प्रेमवाद’को स्थापना गरेर गड्यान्जल नामले परिचित छन् । १२ वर्षको उमेरमा कमण्डलु बोकेर सोलु, खोटाङ, भोजपुरलगायतका जिल्लामा हिँड्न थालेका उनी अहिले विश्व धार्मिक सुधार तथा धार्मिक एकताको मौलिक दर्शन बोकेर अघि बढिरहेका छन् ।
स्वाभाव जोगी तर आफूलाई एक साधारण मानिस भन्न रुचाउने उनी मानवता पैदा गर्न तथा धार्मिक सहिष्णुतता, प्रेम, अहिंसा र शान्ति सन्देश छर्दै अघि बढिरहेको छन् । साढे तीन दशकअघि पूर्वी पहाडी जिल्लामा जन्मिएर अहिंसाको मार्ग हुँदै यहाँसम्म आइपुगेका उनलाई उनका लाखौं अनुयायीहरुले आध्यात्मिक गुरु अर्थात गड्यान्जलको नामबाट चिन्ने गर्छन् ।
भदौ अन्तिम साताको एक साँझ महाराजगञ्ज नजिकैको ‘गड्यान्जल आश्रम’मा यस पङ्क्तिकार अन्तरङ्ग कुराकानीका लागि पुग्दा उनी आफ्नो आश्रममा ध्यानकर्ममै तल्लीन थिए । आफ्नो ध्यानकर्म सकिवरी कुराकानीका लागि तयार भएका उनले विगतका कारुणिक कथा मात्रै सुनाएनन् आफूले समाजसुधार अभियानका क्रममा भोग्नुपरेका अत्यासलाग्दा घटनाहरु पनि सुनाउन भ्याए ।
सानैदेखि उनको स्वाभाव विशेष प्रकारको थियो । जाँडरक्सी नभई संस्कार नै नचल्ने राई परिवारका उनी जाँड–रक्सी सेवन नगर्ने एक्ला व्यक्ति थिए । समय बित्दै जाँदा एक दिन उनको घरमा ठूलो बज्रपात आइलाग्यो । घटना त्यही थियो– अघिल्लो दिनसम्म उनलाई काखमा लिने काकाको मृत्यु । मान्छेको मृत्युबारे कुनै जानकारी नभएका उनलाई त्यसले घटनाले निकै ठूलो चोट पुग्यो ।
उनी भन्छन्, ‘मृत्यु भन्ने थाहा नपाएको मलाई त्यसले निकै पीडाबोध गरायो ।’ तर ८ वर्षे फुच्चेलाई मान्छे मरेर कहाँ जान्छ, के हुन्छ भन्ने चिन्ताले सताउँथ्यो । कैयौं रात उनी निदाएनन् । यही कुराबाट मुक्तिका लागि ध्यान सुरु गरेको स्मरण गर्छन् । उनी विद्यालय त जान्थे तर बीचमै भागेर कहिले रुखको छाहरी मुनि कहिले जङ्गलमा गाई ध्यानमा लीन हुन्थे । ध्यानकै क्रममा उनले मृत्यु स्वाभाविक प्रक्रिया हो भन्ने बुझे ।
दुःखको कारण मृत्यु होइन भन्ने कुरा जब बुझे….
उदयपुरको सैनामैनामा जन्मिएका गड्यान्जल १२ वर्षकै उमेरमा जब मृत्यु स्वाभाविक प्रक्रिया भएको बुझाउन कमण्डलु बोकेर गाउँबस्तीमा पुगे । त्यहाँ त अवस्था फरक थियो । त्यहाँ मान्छेलाई मृत्युको कुनै भय थिएन । उनी भन्छन्, ‘मृत्यु स्वाभाविक कुरा हो भन्ने कुरा अरुलाई बुझाउन मात्रै हिँडेको थिएँ र कसैको विश्वास जित्नका लागि म हिँडेको थिइनँ । हिँड्ने क्रममा मैले के बुझे भने मान्छे मरेपछि कहाँ जान्छ भन्ने कुराको चासो नहुने रहेछ । बरु अहिलेको आवश्यकता के हो भन्नेमा मात्रै चासो हुने रहेछ ।’
त्यही अहिलेको आवश्यकता पूरा गर्ने क्रममा मान्छे जाँडरक्सीको कुलतमा फसेको थियो । एकआपसमा झैझगडा चलिरहेको थियो । उनलाई यस्ता कुलतचाहिँ हटाउनु पर्छ भन्ने लाग्यो र त्यहीँबाट विभिन्न हण्डर र ठक्कर खाँदै आफ्नो अभियानको रफ्तार चलाए जो अहिले त्यही अभियानको सफलता र आफ्नो विद्वता प्रदर्शन गर्दै गड्यान्जलको उपमाबाट पुजिएका मात्रै छैनन्, आफ्नो मौलिक दर्शन स्वर्गिकमार्ग अर्थात हेथन्ली निर्भाणापथलाई स्थापित गरेका छन् ।
जाँडरक्सीको विरोध गर्दाको समय….
जाँड रक्सी र बलीभोग राई लिम्बूको संस्कार हो । तर त्यही संस्कारको विरोधमा एउटा राईको छोरो लाग्नु कसलाई पो पाच्य हुन्थ्यो र ! हुन त आफू विरोधमा नलागेको उनी दाबी गर्छन्, मात्र संस्कार सुधारका लागि आफू सो अभियानमा रहेको गड्यान्जल बताउँछन् । तैपनि त्यतिबेला त्यसको विरोध गर्दा समुदायबाट उनले पटक पटक कुटाइ खाए । सैनामैनामै बलीको विरोध गर्दा उनलाई साकेलाको थानमा दाम्लोले बाँधिएको राम्रो स्मरण अहिले पनि । कति टाउँको फुटे । लखेटिए पनि उनी । तर उनले हार खाएनन्, विस्तारै गाउँ, छिमेक र समुदायका मानिसहरुलाई उनले विश्वस्त बनाउन सके । जसको परिणामस्वरुप अहिले पूर्वी पहाडका अधिकांश राई लिम्बुहरुमा जाँडरक्सीको कुलत हट्दैछ । उनका अनुयायीहरु बढिरहेका छन् भने अनुयायीहरुले प्रेमवादमा विश्वास गरेर अघि बढिरहेका छन् ।
हाल विश्व धार्मिक सुधार तथा धार्मिक एकताको अभियानमा लागिपरेका गड्यान्जल विश्वमा धार्मिक झगडा भएको र त्यसले गर्दा अधर्म फैलिएको बताउँछन् । त्यसैले सबै धर्ममा प्रेमको भाव आओस्, मिलनसारको भाव आओस् भनेर आफू अभियानमा लागेको उनको तर्क छ । ‘प्रेम भावले नै मानवता जगाउँदो रहेछ । अहिले संसारमा मानवता हराइरहेको छ’, उनी भन्छन्, ‘बम बारुदहरु भइरहेको छ, मारामार भइरहेको छ, यो मानवता नभएर हो ।’ प्रेम भेनको माया हो । यसलाई नै जीवन बनाएर जानुपर्छ भन्ने उनको धारणा छ ।
अहिंसा र मानवताको भावना मानिसमा हुन्छ नै खाली त्यसका लागि जागरण आवश्यक रहेको र त्यसकै लागि आफू लागिपरेको उनको भनाइ छ ।
परिवारमै जाँडले मारामारा पर्दाको त्यो दिन…
उनको परिवारमै पनि बाबाले खुब जाँड पिउँथे । बाबा मात्रै होइन आमा र ठूल्दाइको पनि आदत उस्तै थियो । अभियानका सुरुका दिन सम्झिँदै भन्छन्– बुबा जाँडले फिटान भएर घर आउनु हुन्थ्यो । आमामा पनि त्यस्तै हुन्थ्यो । कुटाकुट पनि हुन्थ्यो । सोही कारण ममी बाबा झगडा गर्नुहुन्थ्यो । ठूल्दाइको पनि अवस्था त्यस्तै थियो । पछि मैले उहाँहरुलाई सुधार गर्न सके । पछि साँचै नै घरमा निकै शान्ति भयो ।
ग्रामीण क्षेत्रमा नै परिवर्तन आवश्यक छ भनेर आफूले सामाजिक सुधारको अभियान चलाएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले ग्रामीण क्षेत्रमा नभएर सहर केन्द्रित अभियान चलाउन सक्थेँ । त्यसले अझैं मास बढ्थे होला । ठूला राजनीतिज्ञ र सामाजिक अभियान्ताहरुसँग म सँगतमा हुन्थे होला तर म गाउँमा केन्द्रित रहेँ । सायद मैले महलका मान्छेका लागि केहि गर्न सकिन तर ग्रामिण क्षेत्रका चेतनास्तर कम भएका मान्छेहरुमा चेतना अभिबृद्धि गर्न सफल भएँ, मयसले निकै खुसी दिलाउँछ ।
विवाह, प्रेम र यौन
आध्यात्मले बिहे, नगर घरजम नगर नभन्ने उनको खुलस्त भनाइ छ । उनी भन्छन्, ‘वैवाहिक जीवन भनेको शारीरिक सम्पर्कसँग जोडिएको जीवन हो । अध्यात्मले विवाह इन्कार गर्दैन । हामी ऋषि माहात्माहरु देख्छौं, भगवान रामका सीता थिए, भगवान कृष्णका राधा थिए रे । भगवान बुद्धका यशोधा थिए रे । त्यसैले आध्यात्मिकताले विवाह भन्दैन । आध्यात्मिकता भनेको मनको पवित्रता हो । सुद्धता हो । विवाह नगर्दैमा पवित्रता भन्ने हुँदैन र गर्दैमा अपवित्रता भन्ने हुँदैन । पवित्रता भन्ने कुरा इमानदारिता हो । विचार हो ।’ यद्यपि आफूमा भने विवाहप्रति कुनै रुचि नरहेको उनी बताउँछन् ।
उनको बुझाइमा यौन भनेको शारीरिक आवश्यकता हो । प्रेम भन्ने कुरा चाहिँ स्वास्वत शान्तिका लागि एक मात्रै वैकल्पिक औषधी हो । प्रेमले शान्ति ल्याउँछ । आफ्नो पना बनाउँछ । तर यौन भनेको आशक्ति पनि हो । फिजिकल रिलेसनको कुरा गर्दा अथवा विवाह गर्दा मान्छेले त्यसलाई ध्यान दिन्छ भने त्यो प्रेम होइन, त्यो मात्र आशक्ति हो । आफ्नोपना झल्किएको खण्डमा मात्रै प्रेम हुन सक्छ ।
राईको छोरामा अध्यात्म प्रभाव
पूर्वी नेपालमा ठूलो आध्यामिक जागरण ल्याउन सफल अहिले उनी विश्वव्यापी बनिसकेका छन् । विश्वका करिब २० देशमा उनको आध्यामिक जागरण सङ्गठनात्मक रुपमा चलिरहेको छ । अब आध्यात्मिक जागरणलाई अघि बढाउन हलहरु बनाउने, आश्रमहरु बनाउने प्रवचनहरु गर्ने, सेवाकाजहरु गर्ने, मेडिटेसनलाई फोकस गर्ने, मानिसको पीरचिन्तालाई हटाउने तथा मान्छेलाई शान्ति दिने खालका काम गर्दै अघि बढ्ने सोचमा छन् उनी । मैनामैनीमा ७ कक्षासम्मको अध्ययन गरेका उनले सुनसरीको चतरामा कक्षा ८ मा भर्ना भए पनि त्यसलाई पूरा गरेनन् बरु निरन्तरको ध्यान र स्वअध्ययनबाट उनले आफूलाई निखारेका मात्रै छैनन्, आफैंलाई एक अध्यात्मको केन्द्र बनाएका छन् ।
संस्कार विथोलेको आरोप
अहिले उनले अध्यात्ममा आफूलाई समाहित गरिरहे पनि जाँडरक्सी र संस्कार सुधार गर्ने अभियानको केही समूहबाट विरोध पनि हुने गरेका छन् । उनी भन्छन्– हामीलाई साधु नै बनाइदियो भनेर मलाई आलोचना गरिन्छ ।
यो विषयमा मलाई जाडेर अनेर बद्नाम बनाउने काम पनि भए । तर पनि मैले यसलाई हार मानिनँ । निरन्तर जाँडरक्सीको कुलत हटाउने अभियानमा लागिरहेँ । विस्तारै जाँडरक्सीको कुलत, यसका असरका साथै समाज उत्पन्न हुने नकारात्मक परिणामका विषयमा मेरा अभियानमा मानिसहरु विश्वस्त हुँदै आए । सकारात्मक प्रतिक्रया आउन थाले । अहिले फर्केर हेर्दा जाँडरक्सी नखानेहरु निकै घटेको गड्यान्जलले पाएका छन् ।
अरुको घाँटी काटेर आफू अग्लो भइँदैन
उनी एक जनजाति व्यक्तित्व भए पनि पहिचानका सवालमा उनको आफ्नै धारणा छ । सबैले आफ्नो पहिचान जोगाउनुपर्छ तर त्यसका नाममा अरुलाई गाली गरेर नराम्रो गर्नु चाहिँ नहुने उनी बताउँछन् । ‘अर्काको अनुहार चिथोरेर आफ्नो अनुहार कहिल्यै राम्रो बन्दैन’, पहिचानवादीतर्फ सङ्केत गर्दै उनी भन्छन्, ‘अरुको घाँटी काटेर आफू अग्लो भइँदैन । अहिले पहिचानको सवालमा जुन खालको आन्दोलन भइरहेको अरुलाई प्रहार गर्नेगरी भइरहेको छ, त्यो पटक्कै राम्रो होइन ।’
पहिचानको आन्दोलनमा लागेकाहरुलाई उनको सुझाव छ– पहिचान जोगाउने नाममा मान्छे नमारियोस्, अरुलाई नराम्रो नभनियोस्, मानवता नै उथलपुथल हुने खालको नहोस्, पहिचान नै सम्मपै कुरा हो भन्ने नगरियोस्, मानवताको ख्याल गरियोस् ।
आत्यात्मिकताले अरुलाई सम्मान गर्न सिकाउँछ
उनी भन्छन् आत्यात्मिकताले मानिसलाई सम्मान गर्न सिकाउँछ । इसाई पोपहरु आफैं पनि राजा थिए । हिन्दु धर्मका पनि राजाहरु थिए । राजनीतिज्ञमा आध्यात्मिकता जरुरी हुन्छ । राजनीतिज्ञ आध्यात्मिक बनोस्, आध्यात्मिक राजनीतिज्ञ बनोस् जस्तो लाग्छ उनलाई ।
राजनीतिज्ञको अध्यात्मिकतामा रुचि छैन भने त्यो विनासको बाटोमा जान्छ भन्छन्, गड्यान्जल । आत्यात्मिकता यस्तो चिज हो जसले अरुलाई सम्मान गर्न सिकाउँछ । राजनीतिमा चाहिँ स्वार्थको कुरा हुन्छ । कुर्सीमा चढ्न पाउँ अरुलाई जेसुकै होस् भन्ने रहन्छ । अर्थ जेजस्तो भए पनि अरुलाई ढालेर आफूमाथि चढ्नु नै हो राजनीति । त्यो राम्रो नभएको नभएको भन्दै उनी भन्छन्, ‘नेपालमा सबै पार्टीले राम्रो कुरा गर्छन्, तर साँच्चै राम्रो काम गरेको भए मान्छे कहाँदेखि कहाँ पुग्थे होला ? यो आध्यामिकताको कमी हो । प्रेमभावको कमी हो ।’
गड्यान्जल रहस्यको पात्र हो ?
कतिपयले उनलाई अनेक लाञ्छना लगाउने गरेकामा चित्त दुखाएको छ । संस्कार संस्कृतिको विषयमा आफूले चलाएको अभियानको तोडमोड गरेर आलोचना गरिएको उनको दाबी छ । आफूले विशुद्ध बलिभोग मुक्त समाज निर्माण गर्नका लागि दर्शनको विकास गरेको गरेको र त्यसमा धेरै प्रभावित भएको भएपछि संस्कार विगार्यो भनी बद्नाम गरिनु गलत भएको बताउँछन् । उनी भन्छन्, मैले म पनि संस्कारको पक्षमै हुँ तर गलतलाई त्यागौं मात्रै भनेको हुँ ।’
‘मैले आफ्नै यात्रीहरुलाई पनि आफ्नो धर्म संस्कृति नछाडौं । जुन धर्म हो त्यसलाई महत्व दिऔं भन्दै आएको छु’, उनी थप्छन्, ‘नत्र मैले भन्न सक्थेँ नि प्रेम लेख्नुस् या निर्भाना देख्नुस् भनेर तर त्यो मेरो चाहनाको कुरा होइन । मानव कल्याण नै मेरो चाहाना हो । लुकेर र भूमिगत भएर आरोप लगाउनु होइन ।’ आफू सबै भगवानलाई समान रुपमा लिने व्यक्ति भएको भन्दै कतिले भगवानको विरोधमा लागेको भनेर भन्नु पूर्णतः गलतरहेको उनको स्पष्टोक्ति छ ।
जसले जेजस्तो आलोचना र अवरोध गरे पनि आगामी दिनमा मानव हितका लागि काम गरिरहने उनको दृढता छ । जुन आध्यात्मिक जागरणमार्फत समाजका सकारात्मक सन्देश प्रवाह गर्न नै केन्द्रित हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij