मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

नेपाल-भारत वार्ता : पञ्चेश्वर असफल

  • प्रकाशित मिति : बुधबार, भदौ ७, २०७४



  • प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अघिल्लो दिन बहुचर्चित पञ्चेश्वर आयोजनामा सहमति जुटाउन नेपाल-भारत सचिवस्तरीय बैठक असफल भएको छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सहमति जुटाउन दुई दिनदेखि काठमाडौंमा जारी नेपाल-भारत सचिवस्तरीय बैठक महाकाली सन्धिको सैद्धान्तिक पक्षमै सहमति हुन नसकी टुंगिएपछि असफल भएको हो। मंगलबारको बैठकमा भएको दुवै देशका आ-आफ्ना अडानले कर्मचारी तहबाट पञ्चेश्वरका विवादित मुद्दा सुल्झन नसक्ने र उच्चस्तरीय राजनीतिक हस्तक्षेपबाट मात्र सहमति जुट्ने प्रस्ट भएको छ। यो खबर विकास थापाले आजको अन्नपूर्णमा लेखेका छन्।

    नेपालको जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका सचिव नरेन्द्र कुमारले नेतृत्व गरेको बैठकमा भारतीय पक्षले तल्लो शारदाको पानी उपयोगमा आफ्नो पुरानो अडान कायम राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार २० वर्षदेखि निर्णय हुन नसकेको तल्लो शारदाको विषय उच्चतरीय प्राविधिक संयन्त्रले टुंग्याउन सकेन।

    भारतले टनकपुर ब्यारेजदेखि एक सय ६० किलोमिटर तल बनाएको तल्लो शारदामा सिँचाइ प्रणालीमा उपयोग गर्दै आएको पानीलाई ‘अग्राधिकार’ को रुपमा आफ्नो हक लाग्ने र त्यसलाई महाकालीको पानीबाट कट्टा गर्न नमिल्ने २० वर्षअघिको अडानलाई मंगलबारको बैठकमा पनि दोहोर्‍याएको छ। भारतले २३ वर्षअघि महाकाली सन्धि गर्ने बेला तल्लो शारदाका लागि पानीको अग्राधिकार माग गरेको थिएन। तर, उसले सन् १९७२ मा निर्मित शारदा सहायक नहरले महाकाली (भारतमा पुगेपछि शारदा नदी) बाट २ सय १ क्युमेक्स पानीको उपभोग गरिरहेकाले आफूलाई शारदाको पानीको अग्राधिकार चाहिन्छ भन्ने माग गर्दै आएको छ।

    ‘भारतको यो माग महाकाली सन्धिविपरीत छ,’ बैठकमा सहभागी ती अधिकारीले भने, ‘हामीले पनि पुरानो आफ्ना अडान छाड्ने कुरा आएन, महाकाली सन्धि र पञ्चेश्वर अझै पनि २० वर्ष अघिको व्याख्या र उपख्याख्यामै अड्किएको छ, त्यसैले दुई देशका प्रधानमन्त्री वा उपल्लो राजनीतिक तहबाट हस्तक्षेप नभएसम्म पञ्चेश्वर अघि बढ्ने छाँट देखिएन।’

    नेपाली पक्षले महाकाली नदीले दुई देशको सीमा छोउन्जेलसम्म मात्र साझा नदी रहेको र महाकालीले नछोएको भूभागलाई सन्धिले नचिन्ने भएकाले तल्लो शारदामा भारतले लिइरहेको पानी भागबन्डा गर्दा कटाउनुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याएको ती सहभागीले बताए।

    ‘तल्लो शारदालाई सिँचाइको प्राथमिकता दिएर पञ्चेश्वर जलाशय सञ्चालन गर्दा उत्पादन हुने विद्युत् शक्तिमा नेपालले सम्झौता गर्न सक्दैन,’ ती अधिकारीले बैठकपछि राति अन्नपूर्णसित भने।

    बैठकमा भारतले महाकाली सन्धिको धारा ३ अन्तर्गत रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन नभएसम्म धारा ४ मा व्यवस्थित गरिएको महाकालीपारिको दोधारा चाँदनीलाई १० क्युमेक्स पानी दिने विषय क्रियाशील हुन नसक्ने भन्दै अड्को थापेको थियो।

    सन्धिले दोहोरा चाँदनीका लागि भारतीय भूभाग बनवासा नहरबाट पानी दिनुपर्ने उल्लेख छ। नेपाली पक्षले भने सन्धिका धारा स्वतः क्रियाशील हुँदै जाने जिकिर गर्दै सन्धिले कायम गरिदिएको हक उपयोग गर्न पाउनुपर्ने बताएको थियो। तर, भारतले सन्धिको धारा ४ (दोधारा चाँदनीका लागि पानी दिने प्रावधान) लाई पनि पूरै लत्याइदिएको छ।

    भारतसित सहमति हुन नसकेको अर्को विषय पञ्चेश्वरको जडित क्षमता र यस अन्तर्गत महाकाली नदीमा उपलब्ध पानी हो। भारतले पञ्चेश्वर बाँधस्थलदेखि माथिल्लो भूभागमा सन्धिअनुसार पाँच प्रतिशत पानी छाड्नुपर्ने अडान लिएको छ। नेपालले भने त्यस ठाउँमा महाकालीको पानी उपयोग गर्ने ठाउँ (पूर्वाधार र अवस्था) नभएको र परेका बेला छाड्न सकिने बताउँदै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij