प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
एक आइआइटी प्राध्यापकको जीवनशैली कस्तो होला ? तपाईंको सोच्नुहोला सम्पन्न जीवनशैली, ह्वाइट कलर जब, चम्किलो गाडी, बंगला र पर्याप्त सम्पत्ती । तर आज हामी तपाईंलाई एउटा यस्तो आइआइटिएन बारे बताउँदैछौं जसले उच्चस्तरको जीवनयापन गर्न सक्थे तर उनले जीवनयापन गर्नका लागि संघर्षको बाटो रोजे, गरिब आदिवासीको लागि संघर्ष ।
आलोक सागर आइआइटी दिल्लीका पूर्व प्राध्यापक हुन् । उनको चर्चा त्यतिबेला चुलियो जतिबेला घोडाडोंगरी उपचुनावको क्रममा पुलिसले उनलाई पुष्टिको नाममा थाना बोलाए । आलोक विगत २६ वर्षदेखि आदिवासीको बाहुल्य रहेको गाउँ कोचामूमा बसिरहेका छन् ।
कोचामू राजधानी भोपालबाट करिब १६५ किलोमिटर टाढा बैतुल जिल्लामा पर्दछ । करिब ७ सय ५० को जनसंख्या रहेको यो गाउँमा अहिलेसम्म बत्ती पुगेको छैन । यस गाउँमा शिक्षाको नाममा प्राथमिक विद्यालय र ग्रामिणको स्वास्थ्य अहिलेसम्म भगवान भरोसामा छोडिएको छ ।
आलोक ९० को दशकमा आदिवासी श्रमिक संगठनका आफ्ना केही साथीहरुमार्फत मध्यप्रदेशमा पुगे र त्यतिबेलादेखि यहाँ बसिरहेका छन् । उनले सन् १९६६ देखि ७१ सम्म दिल्ली आइआइटीबाट बीटेक गरे र त्यसपछि सन् १९७१ देखि ७३ सम्म एमटेक गरेपछि पीएचडी गर्नका लागि राइस युनिभर्सिटी ह्यूस्टनको सहारा लिए । पीएचडी पछि उनले डेढ वर्षसम्म अमेरिकामा काम पनि गरे र पद्धि सन् १९८०–८१ मा भारत फर्केपछि दिल्लीको आइआइटीमा एक वर्ष पढाए ।
काम छोडेर गाउँमा काम किन गरेको भन्ने प्रश्नमा आलोकले गम्भीरतापूर्वक जवाफ दिँदै भने, ‘जे समाजबाट लिएको थिएँ अब त्यसलाई फिर्ता पनि त दिनु पर्यो ।’ कुनै पनि साधारण भारतीयभन्दा धेरै राम्रा विकल्प हुँदा हुँदै पनि किन यस्तो जीवन बाँचेको भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘म बाल्यकालदेखि नै भगवानको नजिक जाँदा खुसी हुने गर्दथें र मैले आफ्नो बाटो आफैंले बनाएको छु, अहिलेसम्म म सन्तुष्ट छु ।’
कुनैबेला देशको लागि आइआइटीएन तयार गर्ने आलोकसँग कूल सम्पत्तिको नाममा तीन जोर कुर्ता र एउटा साइकल छ । २६ वर्षदेखि उनी जुन आदिवासीको घरमा बसिरहेका छन् त्यो घरमा एउटा ढोका पनि छैन । ढोकाको बारेमा सोध्दा उनको जवाफ, ‘यसको आवश्यक नै छैन’ थियो । घरभाडा स्वरुप उनले थोरै पैसा दिने गरेको बताए ।
आदिवासी श्रमिक संगठनसँग सहकार्य गरेर उनी आदिवासीहरुको हक–अधिकारका लागि विगत लामो समयदेखि संघर्ष गरिरहेका छन् । उनी थुप्रै भाषाका जानकार हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij