प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४
कागेश्वरी मनहरा नगरपालिकाको गागलफेदी–१मा आज कागेश्वरी महादेव मन्दिरमा ‘कागेश्वरी मेला’ लागेको छ ।
मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो । मेलामा हिन्दू र बौद्ध दुवै सम्मिलित थिए । थुप्र्रै झाँक्रीहरु ढ्याङ्ग्रो ठोक्दै सहभागी भएका थिए । स्वस्थानी व्रतकथामा सतीदेवीको अंग पतन भएको ठाउँमा महादेव मन्दिर रहेकाले महादेवको सो ३४औँ ज्योतिर्लिङ्ग पनि भनिने किंवदन्तीमा उल्लेख छ ।
गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल र मकै आजै कागेश्वरी मेलामा चढाउने प्रचलन छ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा रहेको कागेश्वरी महादेवको मन्दिरमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।
सांसद विकास कोषबाट सांसद रामेश्वर फुयाँलले पाँच लाख र नेपाल सरकारले पाँच लाख रुपैयाँ सहयोग दिएर ‘काग स्तम्भ’ बनाइँदैछ । स्थानीय जनताबाट सङ्कलित कवाड सामानबाट एक हजार किलो काग बनाइने छ । सांसद फुयाँलले लोकतान्त्रिक शहिद उद्यान गागलमा स्थानीय बासिन्दाको कवाडी धातुबाट एक हजार किलोको काग बनाइने बताए । सांसद फुयाँलले भाद्रशुक्ल अष्टमीका दिन सधैँ मेला लाग्ने सो ठाउँमा मेला स्थललाई पशुपति अन्तर्राष्ट्रिय परिपथ बनाइने जानकारी दिए।
धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण सो मन्दिरको संरक्षणका लागि कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान शुरु गरिएको छ । समग्र कागेश्वरीको एकीकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनमार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको बताइएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij