बाँके । नेपालगन्जको ४ औं साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ । आइतबार नेपालगन्जको एक होटेलमा साधारण सभा सुरु हुँनलाग्दा होटल व्यवसायीहरुको एक समुहले अवरोध खडा गरेपछि २ समुह बिच विवाद भएको थियो ।
आफुहरुलाई कुनै पनि जानकारी नदिई साधारणसभा गर्न लागिएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ का संयोजक तुल बहादुर कडेल, सदस्य प्रेमराज खरेल, प्रेमलाल सापकोटा, संस्थापक अध्यक्ष मदन कुमार विसी, पुर्व अध्यक्ष दिपेन्द्र कुमार जोशी, आजिवन सदस्यद्वय श्यामलाल अर्याल र भिमलाल श्रेष्ठ लगायतले विरोध जनाएपछि २ पक्षबिच विवाद सिर्जना भएको हो । आयोजकले साधारण सभाको उद्घाटन सत्र सुरु गर्न लाग्दा असन्तुष्ट पक्षले उठेर नाराबाजी गरेपछि केहीबेर कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो ।
आयोजकले असन्तुष्ट पक्षका मागहरुको सम्बोधन गर्नको लागि छानविन समिती बनाउने बताएपछि उद्घाटन सत्र सुरु भएको थियो । होटल व्यवसायीको विवादले साधारणसभा स्थल तनावग्रस्त भएपछि आएका अतिथीहरु कार्यक्रम स्थल छाडेर गएका थिए । व्यवसायीहरुको एक समुहले विरोध गरेर कार्यक्रम अगाडि बढाउन नदिएपछि अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख एसएसपी महेश विक्रम शाह लगायतका अतिथीहरु कार्यक्रम स्थल छाडेर जानु भएको थियो ।