प्रकाशित मिति : आइतवार, अशोज २, २०७३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझा यातायातले ल्याउने सबै बस भोलि सोमबार आइपुग्ने भए पनि दसैँअघि सञ्चालन नहुने भएको छ ।
साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेका अनुसार केही बस अहिले वीरगन्जबाट काठमाडौँका लागि आइसकेको र केही बस चितवन हुँदै सोमबारसम्ममा सबै बस काठमाडौँ आइसक्नेछ ।
कामु निर्देशक पाण्डेका अनुसार बस आएपछि, प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम गर्नुपर्ने भएकाले दसैँअघि नै बस सञ्चालन गर्न नसक्ने बताएका हुन् ।
पछिल्लो समय साझा यातायातले २०७० बैशाखबाट उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको छ । अहिले ल्याउने लागिएको बससँगै काठमाडौँ उपत्यकामा साझाका ४६ वटा बस सञ्चालनमा रहनेछ ।
पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ ।
पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पु¥याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझाको सेवा विविधीकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन समेत दिएका थिए ।
काठमाडौँ उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा रु १० करोड लगानी गरेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij