आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कोशी टप्पुबाट ल्याइएका अर्नाको स्वास्थ्य नाजुक

  • प्रकाशित मिति : शनिबार, अशोज ७, २०७४



  • चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

    गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान र पानी पोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य बिग्रेको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीपछि दुई अर्ना मरिसकेका छन् भने अन्य अति दुब्लाएका छन् । उनीहरुको च्यापु सुनिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरमा खुला खोरमा १५ अर्ना कोशी टप्पु र सदर चिडियाखानाबाट ल्याएर राखिएको थियो ।

    चिडियाखानाबाट ल्याइएका तीन अर्ना यसअघि नै मरिसकेका थिए ।

    कँडेलका अनुसार एकाएक अर्नाको अवस्था बिग्रिएपछि निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा यही असोज २ गते आएको टोलीले स्थलगत अध्ययन गरी आवश्यक निर्देशन दिएको छ ।

    टोलीले अर्नालाई प्राकृतिक रुपमा भएको भन्दा अतिरिक्त खाना दिने, घाँसे मैदानको व्यवस्थापन गर्ने, सतहमुनिको सफा पानी तानेर खुवाउनेलगायत निर्देशन दिएको छ ।

    अहिले निकुञ्जले अर्नालाई आयोडिनयुक्त नुन, चोकर, मकैको घाँस, परालसहित भिटामिन र खनिज दिँदै आएको छ ।

    खुला खोरभित्र व्यवस्थापन गरिएको घाँसे मैदान हिलाले पुरेको थियो भने निर्माण गरिएका पानीका पोखरी पुरिएर बगर बनेका छन् ।

    निकुञ्जले अहिले ढड्डी भएका क्षेत्रमा फाँडेर घाँसे मैदान व्यवस्थित गर्दै छ । मिचाहा प्रजातिका वनमारा, माइकेनियाजस्ता झार हटाउने काम भइरहेको छ ।

    थप अर्ना मरेमा रेडियो कलर जडान गरेर खोरबाट बाहिर छाड्ने तयारीसमेत गरिएको कँडेलले बताए । थप अर्ना ल्याएर बथानमा छाड्नुपर्ने सुझाव दिइएको छ ।

    निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार गत भदौ १८ गतेपछि अर्नाको स्वास्थ्य विग्रिदै गएको हो ।

    दिनहुँ स्वास्थ्य बिग्रिँदै गएपछि गोबर परीक्षण गरिएको छ । पानी परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

    अहिले भएका अर्नामा नाम्ले, माटेजुका र गोलो जुका देखिएको तथा आवश्यक उपचार जारी रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

    निकुञ्जका पशु चिकित्सक डा कमल गैह्रेले बाढीपछि धेरै दिन खान नपाएको र प्रदूषित खाना खाएकाले अर्नामा संक्रमण देखिएको बताए ।

    उनले भने “जुका मात्रै समस्या नभएर बाढीपछिको दवाव र तनावले रोग प्रतिरोधात्मक क्षमता घटेसँगै समस्या आएको हो ।”

    विभागले एक ठाउँमा मात्रै रहेका दुर्लभ वन्यजन्तुलाई महामारी रोगबाट बचाउन विभिन्न ठाउँमा स्थानान्तरण गर्दै आएको छ ।

    सोहीअनुसार गत माघ १३ गतेदेखि २४ गतेसम्म कोशी टप्पु र सदर चिडियाखानाबाट १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो ।

    चिडियाखानाबाट ल्याइएका एक भाले र दुई पोथी गत जेठमा नै मरेका थिए । बाँकी दुई भाले र आठ पोथी अर्ना संक्रमित भएका हुन् ।

    सोही खोरमा शुक्लाफाँटाबाट ल्याइएका सात बाह्रसिंगेमध्ये तीन मरेका छन् भने तीन वटा हराइरहेका छन् । खोरमा एउटा मात्रै बाह्रसिंगे देखिएको छ ।
    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij