सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका बुँदा तय गरेको थियो। उक्त सम्झौतामा डा. केसीले सहमति जनाएपछि आजै हस्ताक्षर हुन लागेको हो।
सहमतिअनुसार डा. गोविन्द केसीले माग गर्दै आएको चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ताटोली तथा केसी वार्ताटोलीबीच बुधबार यस्तो सहमति भएको हो।
यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषदले यो विधेयक अध्यादेशका रूपमा जारी गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने बैठकको निर्णय रहेको केसी पक्षका वार्ताकार अभिषेक सिंहले बताए।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न पाँच वर्षदेखि सत्याग्रह आन्दोलन गर्दै आएको डा. केसीको यो १४ औं चरणको अनसन हो।
