प्रकाशित मिति : शनिबार, कार्तिक ४, २०७४
बाजागाजा र सांस्कृतिक झाँकीसहितको ‘न्हुँदया भिन्तुना’ पदयात्रा निकाली विशेषरुपमा नयाँ वर्ष मनाइएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८०२) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले राससलाई जानकारी दिए ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्कारुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’–उनले भने ।
वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवत् प्रचलन सम्बन्धमा एउटा किंबदन्ती पनि प्रसिद्ध छ–‘भक्तपुरका राजालाई ज्योतिषले काठमाडौंको लखुतीर्थ टेकुदोभानबाट साइत हेरेर बालुवा ल्याए सुन बन्छ भनी सुनाएपछि भक्तपुरका राजाले बालुवा लिन टेकुदोभानस्थित लखतीर्थमा कामदार पठाएका थिए । कामदारले बालुवा लैजान लागेको देखी साख्वाले बालुवाको दोब्बर पैसा दिन्छु, भक्तपुरकै खोलाको अर्काे बालुवा राजाकहाँ लगिदेऊ भनेपछि बालुवा साख्वाकै घरमा छाडेर गए । बालुवा सबै सुन भएकाले सुन बेचेर गरिब जति सबैको ऋण तिरिदिइ राजालाई अनुरोध गरेर नेपाल संवत् सुरु गरे ।’
गरिब जनताको ऋणमोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत् गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको मूल्यांकन गर्दै २०५६ साल मंसिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
कार्तिक कृष्णऔंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत राजधानीमा छ ।
म्हपूजा सम्पन्न
नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्मा (म्हः) पूजा गरी मनाएका छन् ।
कृषिप्रधान देशका जनताको शरीर बलियो बनाउने उद्देश्यले म्हः अर्थात् देह पूजाको प्रचलन सुरु भएको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी बताउँछन् ।
‘आफूले आफैंलाई चिन्नका लागि यो पूजाको परम्परा बसेको हो, यसको सुरुआत् नेपाल संवत् सुरु हुनुभन्दा अघिदेखि नै भएको हो, नेपालमामात्र आफूले आफैंलाई चिन अर्थात् आत्मज्ञान गर भन्ने दर्शन छ’–उनले भने ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने शास्त्रीय परम्परा भएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
आत्मा सन्तुष्ट बनाइ खुसी राख्नसके देवी–देवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।
गाई, गोरु, र गोवद्र्धन पूजा
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, र गोरुको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा हो ।
गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरको माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खानदिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्णऔंसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहेपनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको प्रा. डा. गौतमले जानकारी दिए ।
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोबद्र्धन पर्वत मानी पूजा गरियो ।
द्वापरयुगमा श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको विश्वास छ ।
वर्षभर कृषिकर्म गर्ने कृषक र जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिइयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij