सोमवार, कार्तिक १७, २०८३ | Monday 2nd November 2026

नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने

  • प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४



  • नारायणगढ–मुग्लिन सडकखन्ड निर्माणका लागि पुनः दिउँसो यातायात रोकेर काम थालिने भएको छ ।

    नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठपर्वपछि मानिसको आवत–जावत कम भएसँगै सडक रोकेर काम गरिने छ ।

    कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ ।

    ठेकेदार कम्पनीले दैनिक ८ घन्टा सवारी रोक्न माग गरेपनि ६ घन्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको चर्चा गर्दै उनले भने–‘अब हामी स्थानीय प्रशासनसँग छलफल गरेर दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिन्छौं ।’

    यसअघि वर्षा सुरु हुनुपूर्व दैनिक ८ घन्टा सवारी–साधन रोकेर काम गरिँदै आएको थियो । वर्षा र चाडपर्वको समय भएकाले सवारी–साधन रोक्न छाडिएको थियो ।

    सडकखन्डको विभिन्न ठाउँमा करिब ८०० मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ । जसका लागि सवारी रोकेरमात्रै काम सम्भव हुने आयोजना प्रमुख यादव बताए ।

    ठेकेदार कम्पनीलाई फेब्रुअरी २० तारिकसम्मको समय रहेको भएपनि गएको वर्षामा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने भन्दै उनले आगामी अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको जानकारी दिए । आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ ।

    भूकम्प, नाकाबन्दी, बाढी–पहिरोलगायतका कारण सुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तीन वर्ष पुर्‍याइँदैछ ।

    यसअघि, २०७३ चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो । त्यतिबेला वर्षा, निर्वाचनलगायतका समयमा रोकिएको कामको मिति थपिएको होे ।

    हालसम्म ५७ प्रतिशतमात्रै काम भएको आयोजना प्रमुख यादवले बताए ।

    आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सात किलोमिटर ५०० मिटर सडक एकपत्र कालोपत्रे गरिएको छ । सबै ठाउँमा तीन पत्र कालोपत्रे गर्नुपर्ने हुन्छ ।

    एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्रे गर्नसकिने उनले बताए ।

    फागुन मसान्तसम्ममा कालोपत्रे सक्नेगरी सडकको नारायणगढबाट १६ किलोमिटरमा ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र जलबीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने इन्जिनियर खनालले बताए ।

    सडक चौडा गर्न चेपाङडाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ ।

    ३ नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिएपनि आउँदो वर्षा अघिसम्म भने काम सकिने उनले बताए ।

    इन्जिनियर खनालले भने–‘आउँदो वर्षामा यो सडकका कारण जनताले दुःख पाउँदैनन् ।’

    नारायणगढ मुग्लिन सडकखन्डको ३४ किलोमिटर खन्ड फराकिलो बनाइँदैछ ।

    नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म ९ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिनेछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij