प्रकाशित मिति : सोमवार, साउन १७, २०७३
काठमाडौँ । कलंकीको स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको सब स्टेशनको ट्रान्सफरमरमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
दिउँसो दुई बजेतिर आगो लागेको थियो । काठमाडौं र ललितपुरका दमकलहरुले करिब आधा घण्टाको प्रयासमा आगो निभाएका छन् ।
आगलागीका कारण काठमाडौं उपत्यकामा करिब एक घण्टासम्म विद्युत आपूर्ति बन्द गरिएको थियो ।
कुलेखानी जलविद्युत आयोजनाबाट उत्पादित विजुली सो सबस्टेशन हुँदै काठमाडौं उपत्यकाभर वितरण हुन्छ ।
सबस्टेशनमा लागेको आगो पानीले निभाउन नमिल्ने भएकाले अग्नि नियन्त्रकहरुले फोम केमिकल प्रयोग गरेका थिए ।
आगलागीको कारण खुलेको छैन तर जुद्ध वारुणयन्त्र काठमाडौंका कर्मचारीहरुले सर्किट टुटेर आगो लागेको हुनसक्ने अनुमान गरेका छन् ।
आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij