प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३
काठमाण्डौ, । नेकपा एमालेले आगामी मंसिरमै स्थानीय निकायको निर्वाचन हुनुपर्ने आफ्नो अडान दोहोर्याएको छ । मंगलबार राजधानीमा बसेको पार्टीको स्थायी कमिटी बैठकले कांग्रेस–माओवादी गठबन्धनले चैतमा निर्वाचन गर्न राखेको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै सो निर्णय गरेको हो ।
बैठकले कांग्रेस–माओवादीले भनेजस्तो चैतमा सरकार परिवर्तन हुने सम्भावना रहेको र स्थानीय निर्वाचन पनि त्यही बेला हुन नसक्ने जनाउदै आगामी मंसीरमा स्थानीय निर्वाचन गर्नुपर्नेमा जोड दिइएको बैठकपछि प्रचार विभाग प्रमुख तथा पार्टी सचिव योगेश भट्टराईद्धारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।
एमालेले आगामी २०७४ साल कार्तिकभित्र प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने माग समेत गरेको छ । विज्ञप्तिमा आगामी मंसिरदेखि अर्को वर्षको कातिकसम्म तीनवटा निर्वाचन गर्नुपर्नेमा जोड दिदै मुलुकलाई चुनाव हुन नदिई अनिश्चयतर्फ धकेल्ने कुनैपनि षडयन्त्रप्रति सजग रहन सबैमा आव्हान गरिएको छ ।
नेपाली कांग्रेस र माओवादीले चैतमा निर्वाचन गर्ने भन्ने प्रस्ताव निर्वाचननै नगराउने षडयन्त्र अन्तर्गत आएको जनाउँदै त्यसप्रति सजग रहन समेत सबै पक्षप्रति आग्रह गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij