शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महन्थको घरमा चोरी गर्नेलाई किन पक्राउ नगरेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • काठमाडौं   ।   तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा भएको चोरीका संलग्नहरुलाई अझैसम्म फेला पार्न नसकेको भन्दै पार्टीले गृहमन्त्री विमलेन्द्र निधिसमक्ष ज्ञापनपत्र बुझाएको छ । पार्टीका शीर्षस्थ नेताहरुको टोली शुक्रबार साँझ गृहमन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।

    गत भदौ २५ गते भक्तपुरको सानोठिमीस्थित निवासमा ‘महन्थ ठाकुरलाई भेट्नु छ’ भन्दै प्रवेश गरेका पाँच जनाले खुर्सानीको धुलो फ्याँकेर ठाकुरकी छोरी मिनाक्षीलाई खुकुरी प्रहार गर्दै अटैंची बोकेर भागेका थिए ।

    त्यसयता महानगरीय प्रहरी वृत ठिमी र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले घटनाबारे अनुसन्धान जारी राखेपनि हालसम्म कुनै उपलब्धि नभएको पाइएको छ ।

    शुक्रबार ज्ञापनपत्र बुझाउन उपाध्यक्षहरु हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृखेषचन्द्र लाल तथा सह प्रवक्ता कृष्णसिंह नेतृ चन्दा चौधरी थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रमा घटना भएको १४ दिनसम्ममा पनि राष्ट्रिय पार्टीको अध्यक्षको घरमा भएको चोरी गर्ने पक्राउ नपर्नु र सुराकसमेत फेला नपर्नु निकै दुःखद विषय भएको बताइएको छ ।

    त्यस्तै यो घटनाले राजधानीमा बसोबास गरिरहेका मधेसी तथा सीमान्तकृतहरु असुरक्षित महसुस गरिरहेको बताउँदै दोषीमाथि तत्काल कारवाही गर्न माग गरिएको छ ।

    ज्ञापनपत्र बुझ्दै गृहमन्त्री निधिले घटनाबारे आफूलाई जानकारी भएको र घाइतेलाई भेट्न अस्पताल पनि पुगेको जिकिर गरेका थिए । ‘तर, पछिल्लो समय के भइरहेको छ मलाई अपडेट छैन,’ गृहमन्त्रीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘यसबारे अनुसन्धान के भइरहेको छ भनेर बुझ्छु र केही कमजोरी वा त्रुटी भए त्यसलाई सच्याउन तुरुन्तै निर्देशन दिन्छु,’ उनले दोषीमाथि कडा कारवाही हुने आश्वास दिएका थिए ।

    ठाकुरको घरबाट लुटिएको कालो रंगको अटैंचीमा चालीसदेखि पचास हजार नगद भएको परिवार स्रोतले भनाई छ । प्रहरीलाई ठाकुर परिवारले दिएको जानकारी अनुसार कति पैसा थियो भन्नेबारे महन्थ ठाकुर पनि यकिन छैनन् । पैसा बाहेक दराजको साँचो र तमलोपाका केही डकुमेन्ट अटैंचीमा थिए । ‘ठाकुरले पढ्ने गरेका केही पुस्तक पनि अटैंचीमा थियो भनेर उहाँहरुले भन्नुभएको छ’ महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले भने, ‘बाँकी केही पैसा र पार्टीका डकुमेन्टहरु भएको खुल्न आएको छ ।’ शुक्रवार साँझ चोरी हुँदा ठाकुर प्रधानमन्त्रीसँग बैठक बसिरहेका थिए । घरमा छोरी मिनाक्षी र खाना पकाउने एक जना केटा मात्रै थिए ।

    त्यस्तै मन्त्रालय पुगेका नेताहरुले मोर्चाले बुझाएको ६८ जनाको सहिदको सूचीमा ५२ जनाको नाम मात्र किन घोषणा गरिएको भन्दै प्रश्न गरेका थिए । प्रत्येक जिल्लाबाट मारिएकाहरुको विवरण गृहमन्त्रालयमा आइसकेपनि यसमा ढिलाई भएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

    जवाफमा गृहमन्त्रीले मधेस आन्दोलनको क्षतिपूर्ती यकिन गर्न आयोग गठन भइसकेको र अब त्यसको प्रतिवेदन आउनसाथ बाँकीलाई पनि सहिद घोषणा गरिने आश्वासन दिएका थिए ।

    तर, मोर्चाका नेताहरुले भने आयोगले काम नै शुरु नगरेको अवस्थामा प्रतिवदेन कहिले आउने टुंगो नभएको भन्दै सिडियोहरुले पठाएको विवरणको आधारमा सहिद घोषणा हुनुपर्ने माग गरे ।

    नेताहरुको भनाई सुनेपछि गृहमन्त्रीले आफू भोलि जनकपुर जानलागेको र १० गते त्यहाँबाट फकेर यसबारे अविलम्ब निर्णय गरिने बताएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij