शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सरकारले ‘हरियो प्लेट’ हटाउन लागेको भन्दै पर्यटन व्यवसायीको विरोध

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • काठमाडौँ   ।   पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।

    नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायीले ‘हरियो प्लेट’का सवारीमा विदेशीलाई मात्र बोक्न पाइने भन्ने नियमले मुलुकको पर्यटन व्यवसाय धराशायी बन्ने खतरा औँल्याए ।

    पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी साधनको नम्बर व्यवस्थित गर्न हरियो प्लेटका सवारीले नेपाली बोक्न नपाउने गरी नयाँ व्यवस्था गर्न लागेको छ । यसरी हरियो प्लेटले विदेशी मात्र बोक्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पुग्ने व्यवसायीको भनाइ छ ।

    साथै, उनीहरुले पर्यटक यातायातले अन्य सार्वजनिक सवारी साधनसरह सरकारलाई राजस्व बुझाएको भए पनि सहुलियत नदिएकामा गुनासोसमेत गरेका छन् ।

    पोखरा यातायात समितिका अध्यक्ष बोवरजङ्ग गुरुङले हरियो प्लेटको लामो इतिहास रहेको र यसले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको भन्दै यसलाई कुनै हालतमा हटाउन नहुने बताए । पर्यटन व्यवसायी दीपक महतले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाई बढी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न व्यवसायीबीचको एकता जरुरी भएको बताए ।

    नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामा हरियो प्लेटमा नेपाली बोक्न नपाइने नियमले नेपाली पर्यटन व्यवसाय धरापमा पर्ने बताउनुहुन्छ । तर सरकारी अधिकारीले भने व्यवसायीको हितलाई मध्यनजर गरी सहज र सुलभ सेवाका लागि सवारी नम्बर डिजिटल प्रणालीमा लैजान लागिएको बताएका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले व्यवसायीको हितमा हुने गरी नयाँ व्यवस्था गर्न लागिएको तर कस्तो व्यवस्था गर्ने भन्नेबारे अझै मन्त्रालय छलफलमै रहेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी नेपालको पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेकाले पर्यटकलाई गुणस्तरीय सेवाको सुनिश्चिताका लागि व्यवसायीलाई आग्रह गरे ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले हरियो प्लेटको पहिचानसहितको डिजिटल नम्बर प्रणाली लागू गर्दा व्यवसायीको अहितमा नहुने बताए । उनले पर्यटक यातायातलाई एम्बुलेन्स जस्तै राज्यले संरक्षण गरी सुरक्षित र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।

    पर्यटन विभागका अधिकृत टङ्क भट्टराईले निजी क्षेत्रसँग साझेदारीका साथ सरकारले पर्यटक यातायातलाई व्यवस्थित बनाउन लागिपरेको बताए । सङ्घमा आबद्ध ७५ कम्पनीका साना ठूला सवारी गरी करिब दुई हजार ५०० बस सञ्चालनमा छन् । त्यस्तै निजी क्षेत्रका करिब ७०० पर्यटक सवारी रहेको बताइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij