शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

फरार विदेशी अपराधीबाट साढे तीन अर्ब असुल्न बाँकी, सबै रकम डुब्ने अवस्थामा

  • प्रकाशित मिति : शुक्रबार, माघ २६, २०७४



  • काठमाडौं, माघ २६ । अदालतको फैसलाअनुरूप अपराधमा संलग्न विदेशी नागरिकबाट जरिवानावापत असुल्नुपर्ने साढे तीन अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ ।

    जरिवानासँगै विदेशी अपराधीले भुक्तान गर्न बाँकी जेल सजाय वर्ष जोड्दा तीन सय वर्ष पुग्छ । अदालतबाट अन्तिम फैसला भए पनि स्पष्ट कानुन र अन्तरदेशीय सहयोगको अभावमा यस्तो विकराल समस्या उत्पन्न भएको हो ।

    काठमाडौं जिल्ला अदालतको तहसिल अभिलेखको ढड्डामा विदेशीबाट असुल्नुपर्ने २०१९ सालयताको दण्ड र जरिवानाको लामो चाङ छ । कर्तव्य ज्यान, लागुऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्तिचोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार तथा खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाका तीन सय ८३ जना विदेशी नागरिकलाई कैद ठेकिएको छ ।

    यीमध्ये अधिकांश अपराधी मुद्दा चल्दाचल्दै फरार भइसकेका छन् । सर्वोच्च अदालतबाट अपराध ठहर भए पनि जिल्लाको फैसला पुनरावेदनबाट उल्टिएलगत्तै ठूलो परिमाणमा जरिवाना र कैद असुल्न बाँकी अपराधी बाटो लागिसकेका छन् । सीमित संख्यामा मात्र दण्ड, जरिवानावापत विदेशी अपराधीले सजाय भुक्तान गरिरहेका छन् ।

    काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी ध्रुव ढकाल सुपुर्दगी सन्धि र पारस्परिक सहयोगसम्बन्धी कानुन बनाएर सम्बन्धित मुलुक यसको पक्ष भए मात्र विदेशी अपराधी समात्ने उपाय निस्कन सक्ने बताउँछन् ।

    नेपालले पारस्परिक सहायतासम्बन्धी कानुन बनाए पनि यसलाई स्वीकार गर्ने मुलुकका लागिमात्र यो लागू हुन सक्छ । कुुनै राष्ट्र कानुनको पक्ष रहेमात्र विदेशी अपराधीलाई समात्न सम्भव हुन्छ । अन्यथा इन्टरपोललाई आग्रह गरेर समात्नेबाहेक बाँकी विकल्प छैन । तर, कैदमा राख्न इन्टरपोलमार्फत अपराधी पठाइहाले पनि जरिवानावापतको रकम उठ्न असम्भव छ । कानुन बनेर अर्को मुलुक सहमत भइहाले पनि आफ्ना नागरिकलाई सुपुर्दगी गर्न सहज छैन । अहिलेको कानुनअनुरूप नेपाल सरहद (सीमा) भित्र फेला पारे मात्र ठाडै पक्रन सकिन्छ ।

    ‘गोल्डक्वेस्ट’ खेलाएर ठगी गरेको अभियोगमा हङकङ नागरिक डोन्ना मारिइ ग्लेन इम्सन र भारतीय नागरिक तनवीर निजामबाट मात्र ५३ करोड ६० लाख रुपैयाँ जरिवाना असुल्न बाँकी छ ।

    यसैगरी अन्तर्राष्ट्रिय कल बाइपास गरी राजस्वमा नोक्सान पुर्‍याएको अभियोग लागेका चिनियाँ नागरिक ओयु हाओ, झु कमिङ, जिआ नान विन र ज्याक्सी पानबाट दामासाहीले ८५ करोड ७५ लाख रुपैयाँ जरिवाना असुल गरी डेढ वर्ष कैद ठेक्ने गरी सात वर्षअघि भएको फैसला पनि संकटमा छ । यीमध्येका मुख्य योजनाकार नै फरार रहेको अदालतका अधिकारी बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij