प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
काठमाडौँ । नेपालले केरुङ नाकाबाहेकका देशका थप अन्य नाकाहरुमा पनि रेलवे विस्तारका लागि चीनसँग आग्रह गरेको छ ।
चीनले तिब्बतसम्म आउने रेलमार्गलाई सिमाना नजिकको जिलोङसम्म विस्तारको योजना बनाएको छ, जुन नेपालको रसुवागढी नाकाबाट नजिकै रहेको छ ।
‘तिब्बतमा रहेका चिनियाँ अधिकारीहरुलाई हामीले रेलमार्गलाई नेपालका अन्य नाकाहरुमा पनि विस्तार गर्न आग्रह गरेका छौं,’ वाणिज्य मन्त्रालयका उपसचिव रविशंकर शैँजुले भने । उनी नेपाली टोलीको प्रतिनिधित्व गर्दै नेपाल–तिब्बत व्यापार सहजीकरण कमिटीको बैठकमा भाग लिन गत हप्ता ल्हासा पुगेका थिए ।
यो समिति दुई देशबीचको व्यापारलाई प्रबद्र्धन गर्नका लागि गठन गरिएको छ ।
यसको बैठक दुई देशमा पालैपालो आयोजना गरिन्छ ।
शैँजु अनुसार उनले रसुवागढी बाहेक हिल्सा, कोरला र किमान्थांकालगायत सीमा क्षेत्रमा पनि यसलाई विस्तार गर्न चिनियाँ पक्षलाई आग्रह गरिएको बताए ।
केपी ओली प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणका क्रममा दुई देशबीच भएको व्यापार तथा पारवहन सम्झौता अनुरुप दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्न गृहकार्य भइरहेको छ ।
शैँजुले अन्य सीमा क्षेत्रमा पनि रेलमार्ग पुगे यसले नेपाललाई थप विकल्पहरु प्रदान गर्ने आशा व्यक्त गरे ।
यो सम्झौताले नेपाललाई चिनियाँ भूमिको प्रयोग गर्दै समूद्रसम्मको पहुँच पुर्याउन महत्वपूर्ण मानिएको छ ।
बैठकमा सीमा क्षेत्रमा आर्थिक क्षेत्र निर्माण गर्ने विषयमा पनि छलफल भएको सिन्ह्वाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij