प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३
आज बोहनी नै भएन, सोह्र श्राद्धमा पितृलाई पिण्डसहित तार्न पशुपति आउने यजमान आफूकहाँ नआएपछि आसन कसेर बसेका ब्राह्मणबीच प्रचलित संवादको यस वाक्यले ब्राह्मणहरू पितृको उद्धार गर्न आसन जमाएका हुन् वा कमाउन बसेका हुन् ? भन्ने संशय यजमानलाई भएको छ ।
कसैको बोहनी राम्रै हुन्छ, कसैको हुँदैन, पशुपति भुवनेश्वरी डबलीमा रहने कर्मकाण्डी ब्राह्मण अच्युतप्रसाद पौडेलले भने। यसो त बोहनी भए पनि नभए पनि आसनमा बसेका यजमानलाई सुरुमा पाँच रुपियाँदेखि दुनामा दश बीस पचास हुँदै एकसय र पाँच सय हजारसम्मको द्रव्य पटक पटक राख्न लगाएर हैरान गर्ने ब्राह्मणको लर्को पशुपति क्षेत्रमा छ ।
मावलीपट्टिका पितृ, आफ्नै घरतर्फका पितृ, अन्य पितृको नाममा तर्पण सङ्कल्प गर्दा आसन छेउमा घिसारिएर आएको दुनामा दिनुपर्ने द्रव्यले यजमान त्रसित भए, चार पाँच सय रुपियाँमा सक्याउने गरी आसनमा रहँदा झन्डै पन्ध्र सय रुपियाँ दक्षिणाको मारमा परियो, छिटै आसन छोड्ने प्रपञ्च नगरेको भए यसभन्दा बढी मारमा परिने रहेछ । अहो ! गोजीमा अलि पैसा नहालेको भए त लाजमर्दो हुने रहेछ, यजमान गौरीघाटका बद्री पुडासैनीले भने ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले सोह्र श्राद्धका ब्राह्मण मात्र नभएर अरु बेला पनि यस्तो झमेलामा यजमान परेको गुनासो कोषमा आइरहेको बताउँछन्। कोषले निश्चित दक्षिणा तोकिदिन सकेको छैन तर ब्राह्मणको ज्ञान, चालचलन र आनीबानीबारे परीक्षण गर्ने व्यवस्था गरेको छ ।
जानेका ब्राह्मणले नजानेका ब्राह्मणको परीक्षा लिएर आसनमा बस्ने अनुमति दिने व्यवस्था छ । यजमानका यी गुनासा हटाउन ब्राह्मणउपर अन्य परीक्षा लिने तयारीमा कोष पुगेको छ। पशुपति क्षेत्रमा भेषभूषा र अनुहारले ब्राह्मण हो भनी अनुमान गर्न सकिने झन्डै तीनसय ब्राह्मण सोह्र श्राद्धका लागि घाटमा टहलिइरहेका भेटिन्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij